विराटनगरःप्रदेश १ मा प्रदेशसभा गठन भएको तीन वर्ष लागेको छ । सोही अवसरमा प्रदेश राजधानी विराटनगरमा प्रदेशसभा सचिवालयले बुधबार एक कार्यक्रम आयोजना गरेको छ ।
त्यस अवसरमा सांसदहरुले बैठकमा बोलेको विषयलाई समेटेर तयार गरेको पुस्तकको विमोचन र मोबाइल एप्सको शुभारम्भ सभामुख प्रदिपकुमार भण्डारीले गरेका छन् । पुस्तक प्रदेशसभाको पुस्तकालयमा पढ्नका लागि उपलब्ध हुनेछ । प्रदेशसभाले बिभिन्न गतिबिधिहरु समेटेर पहिलो पटक स्मारिका पनि प्रकाशन गरेको छ । स्मारिकमा भने हालसम्म संसदमा भएका गतिविधिहरु समेटिएको उपसचिव अर्जुनप्रसाद निरौलाले बताए ।
२२ माघ २०७४ मा प्रदेश एक प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सभामुख भण्डारीले संघीयताको आकर्षण अहिले प्रदेश भएको बताए । प्रदेशसभामा सचिव गोपाल प्रसाद पराजुलीले संसद सचिवालय प्रविधिमैत्री बन्दै गएको बताए ।
कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसदका गतिविधि जनतासमक्ष सहज रुपमा पुग्नुपर्ने बताए । नेकपा सांसद तथा प्राकृतिक स्रोत साधन संरक्षण समिति सर्वध्वज साँवाले शुन्यबाट सुरु भएको प्रदेशसभा बिस्तारै परिपक्व हुँदै जानु खुसीको विषय भएको सुनाए ।
नेपाल पत्रकार महासंघ एक नम्ब प्रदेश समितिका अध्यक्ष विक्रम लुइँटेलले सांसदहरुले आफ्ना लागि के गरे भन्ने जान्न पाउने हक जनतालाई भएको बताए । संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लम्सालले संसद जनताको लागि स्थापित उच्च संस्था भएको बताए ।चार वटा अधिवेशन सम्पन्न गरिसकेको एक नम्बर प्रदेशसभाले हालसम्म ३९ वटा बिधेयक पारित गरिसकेको छ । २३ माघ बिहिबारदेखि प्रदेशसभाको पाँचौ तथा हिउँदे अधिवेशन सुरु हुँदैछ ।
प्रदेश सभाको बैठक अव बेवसाइटमै प्रत्यक्ष हेर्न पाइने व्यवस्था समेत भएको छ । २३ माघदेखि हुने बैठक ‘एसेम्बली पी वान डट जीओभी डट एनपी’ मार्फत प्रत्यक्ष प्रसारण गर्ने सचिवालयले जनाएको छ ।