इटहरीः नेपाल टेलिभिजन स्थापनाको पैँतिस वर्ष पुगेको अवसरमा सङ्घीय सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटा इटहरी बज्राहमा आज आएका थिए ।
बज्राहस्थित नेपाल टेलिभिजनको पाँचौँ च्यानल एनटिभि इटहरीको प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिंहदरबारको एक्सन रुमबाट बटन थिचेर उद्घाटन भएको थियो ।
उद्घाटनपछि भिडियो कन्फरेन्सबाट पन्ध्र मिनेट सम्बोधन गरेको प्रधानमन्त्रीपछि मन्त्री बास्कोटाले आफ्नो सम्बोधन गरेका थिए । सम्बोधनमा मन्त्री बाँस्कोटाले विभिन्न पाँच महत्त्वपूर्ण घोषणा गरेका छन् ।
१. पत्रकारको परीक्षा हुँदैन
मन्त्री बास्कोटाले राष्ट्रिय सभामा छलफलको रूपमा रहेको पत्रकारको परीक्षा नहुने बताए । डाक्टर बन्न मेडिकल काउन्सिलबाट परीक्षा लिनुपर्ने, वकिल बन्न बार काउन्सिलबाट लिनुपर्ने जस्तै पत्रकार बन्न मिडिया काउन्सिलबाट परीक्षा लिनुपर्ने गलत काम नभएपनि परीक्षा हाललाई नहुने मन्त्री बास्कोटाले बताए ।
२. धरानमा विशाल डाटा सेन्टर
मन्त्री बास्कोटाले सुनसरीको धरानमा अत्याधुनिक सुविधासहितको विशाल डाटा सेन्टर बन्ने बताए । पूर्व र मध्य नेपालको डिजिटल कनेक्टिभिटी र एक्टिभिटिको लागी धरानमा रहेको रेडियो नेपालको जग्गामा एक वर्षभित्रै डाटा सेन्टर बन्ने मन्त्री बास्कोटाले जानकारी दिए ।
३. नेपालको पहिलो अन्तर्राष्ट्रिय च्यानल
हप्तामा सातै दिन र दिनमा चौबिसै घण्टा प्रसारण हुनेगरि नेपालले पहिलो अन्तर्राष्ट्रिय च्यानल सञ्चालनको तयारी गरेको मन्त्री बास्कोटाले बताए । अङ्ग्रेजी भाषामा प्रसारण हुने च्यानल नेपाल र नेपालीले विश्व समुदायसँग अन्तरक्रिया गर्ने माध्यम बन्ने मन्त्री बास्कोटाले बताए । एक वर्षभित्रमा नेपाल टेलिभिजनका पाँचमध्ये एक च्यानललाई ‘एनटिभि वल्ड’ को रूपमा अन्तर्राष्ट्रिय च्यानल बनाउने जानकारी दिए ।
४. एमसिसि अनुदान मात्रै हो, सैन्य सहमति हैन
मन्त्री बास्कोटाले अमेरिका र नेपाल बिचको एमसिसि सैन्य सहयोगको सम्झौता नभएको बताए । केहिले अमेरिकी सेना नेपालमा परेड खेल्न आउने हल्ला गरेको बताउँदै मन्त्री बास्कोटाले त्यो अफवाह भएको बताए । नेपालले सबै शक्ति राष्ट्र, मित्रराष्ट्र देखी दातृ निकाय सबैबाट अनुदान लिने मन्त्री बास्कोटाले बताए ।
५. समानुपातिक विज्ञापन हुन्छ, क्लिन फिड लागु हुन्छ
नेपालमा पब्लिक सर्भिस ब्रोडकास्टिङ (पिएसबी)को अवधारणा लागु हुने मन्त्री बास्कोटाले दाबी गरे । पब्लिक सर्भिस ब्रोडकास्टिङ, समानुपातिक विज्ञापन र क्लिन फिड जस्ता नेपाली मिडियाका महत्त्वपूर्ण विकासका कुरा लागु हुने मन्त्री बास्कोटाले बताए । यस्तैगरि, न्यूनतम पारिश्रमिक समेत लागु हुने मन्त्री बास्कोटाले दाबी गरे ।