इटहरीः इटहरीकी मनकारी स्थानीय निवासी जुल्मीदेवी थारुले २०५५ मा नेपाल टेलिभिजनलाई जग्गा दान गरिन । २०५५ माघ ६ गते औपचारिक रूपमा नेपाल टेलिभिजनको लागी थारुले १० कट्ठा जग्गा दान गरिन ।
हाल इटहरी ७ स्थित बजराहमा उनले दिएको जग्गामा नेपाल टेलिभिजन आउला भन्ने थारुको सोचाइ उनको जीवन कालमा पुरा भएन । उनी स्वर्गबास भएपछि भने पुग्यो ।
बिहीबारबाट उक्त जग्गामा निर्माण भएको तीन तल्ले भवनबाट एनटिभि इटहरी च्यानल सुरु भएको छ । स्वयं जग्गा दातालाई समेत टेलिभिजन आउँदैन जस्तो लागेको बेला टेलिभिजन आएको नेपाल टेलिभिजनका अध्यक्ष डाक्टर महेन्द्र बिस्टले बताए ।
‘म अध्यक्ष नभईकन यो जग्गामा नेपाल टेलिभिजन बन्ला भनेर जग्गादाताले जग्गा दिनु भएको थियो तर उहाँको जीवनकालमा टेलिभिजन बनेन’, बिस्टले इटहरीमा बिहीबारबाट नियमित प्रसारण सुरु गरेको टेलिभिजन परिसरमा पत्रकारसँग बोल्दै भने, ‘उहाँका सन्तानहरूले पनि बन्छ भन्ने सोच्नु भएको थिएन तर बन्यो ।’
२५ करोड लागतमा बनेको अत्याधुनिक प्रविधि सहितको च्यानल नेपालभरि र नेपाल बाहेक १४६ देशमा सेटेलाइट, भूसतहिय देखी डिटिएच तथा केबलहरूबाट प्रसारण हुने बिस्टले बताए । उनले भने, ‘यो नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण हैन । यो छुट्टै च्यानल हो । यसका छुट्टै कार्यक्रम र कार्यक्रम प्रस्तोताहरू हुनेछन् ।’
प्रदेश १ र २ केन्द्रित सामाग्रीहरू प्रसारण गर्ने एनटिभि इटहरी च्यानलले स्थानीयतालाई प्राथमिकता दिने समेत बिस्टले बताए । तीन तले आधुनिक भवनसँगै दुई वटा भिन्नाभिन्नै पछिल्ला प्रविधि प्रयोग भएर बनेका स्टुडियोहरू एनटिबि इटहरीमा भएको बिस्टले बताए । भने, ‘काठमाडौँमा पनि प्रयोग नभएका पछिल्ला प्रविधि पछिल्लो समयमा बनेको एनटिभि इटहरी च्यानलमा प्रयोग भएको छ । सबै प्रसारण एचडि क्यालिटिका हुनेछन् ।’
२०४१ सालमा स्थापना भएको नेपाल टेलिभिजनको ३५ औँ वर्षगाँठ पारेर भोलि माघ १७ गते प्रधानमन्त्रीले इनटिभि इटहरी च्यानलको भिडियो कन्फरेन्स मार्फत औपचारिक उद्घाटन गर्नेछन् । नेपाल टेलिभिजनका यस अगाडि नेपाल टेलिभिजन, एनटिभि प्लस, एनटिभि न्यूज र एनटिभि कोहलपुर जस्ता विभिन्न च्यानलहरू प्रसारणमा आइसकेका छन् ।