विराटनगरःएकीकृत भन्सार जाँच चौकी (आईसीपीमा) उद्घाटन गर्दै नेपालका उद्योग राज्यमन्त्री मोती दुगडले नेपाल- भारतबीचकाे सम्बन्धले नयाँ उचाइ लिएकाे प्रतिक्रिया दिएका छन् । अाज विराटनगर रानी भन्सारमा दुइ देशबीच सँयुक्त रूपमा भएकाे कार्यक्रममा  दुइ देशकै अधिकारीहरूले भन्सार सहजताका लागि अाइसिपिले महत्वपुर्ण काम गर्ने बताए । 

मन्त्री दुगडले नेपाल भारतबीचको सम्बन्धको आयाम थप उचाइमा पुग्‍ने क्रममा रहेको बताए ।

नेपाल भारतका प्रधानमन्त्रीद्वयले नयाँ दिल्ली र काठमाडौंबाट स्वीच थिचेर उद्घाटन गरेको आईसीपीमा भारत र नेपालका मन्त्री तथा अधिकारीहरु सम्मिलित भई स्थानीय रुपमा पनि कार्यक्रम आयोजना गरिएको हाे। यस अघि विरगञ्जमा अाइसीपि सँचालनमा अाइसकेकाे छ । 

विराटनगरमा उद्घाटन भएको आईसीपीमा अन्तर्राष्ट्रियस्तरका सुविधा छन् । यो भारत सरकारको कूल रु. दुई अर्ब १० करोड लगानीमा निर्माण सम्पन्‍न भएको हो । भन्सार, अध्यागमन र क्वारेन्टाइनसम्बन्धी सबै सुविधा उपलब्ध छन्र ।  

विराटनगरमा निर्माण भएको आईसीपीमा पाँच सय मालबाहक ट्रक आउ-जाउ गर्न सक्ने क्षमताको छ । चौबीसै घन्टा विद्युतीय सुविधा छ । रेफ्रिजिरेटर सुविधासहितको गोदाम घर र सिसी टिभीको सुरक्षा निगरानी छ ।

विराटनगरको आईसीपी १६९ बिघा क्षेत्रफलमा फैलिएको छ । पार्किङ क्षेत्र दुई लाख फिटको छ । सँधै पावर 'ब्याकअप'को सुविधा छ ।

नेपालको विराटनगर र भारतको जोगबनीतर्फ प्रतिछायाको रुपमा दुबैतर्फ उस्तै कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ् एजेन्ट, सिसिटिभी, पार्किङ, रेस्टुरेन्ट, बैंक र अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ । इलेक्ट्रिक सबस्टेशन, वे ब्रिजलगायत सुविधा उपलब्ध छन् । 

आईसीपी निर्माण गर्न नेपाल र भारत सरकारबीच १६ मार्च २०१७ मा सम्झौता भएको थियो ।