इटहरीः  देशभरका फिल्म हलबाट एकैसाथ प्रदर्शन हुन लागेको नवल नेपालद्वारा निर्देशित बहुप्रतिक्षित फिल्म मारुनीको प्रचार प्रदेश नम्बर १ को मुख्य केन्द्र इटहरीबाट व्यापक बनाइएको छ ।

तीजको अवसर पारेर मारुनी फिल्म निर्माण युनिटले स्थानीय परिकला मिडिया प्रालिसँग सहकार्य गरी यही भदौ ४ गते मारुनी टुर नेपाल अन्तरर्गत जनचेतनामूलक तीज विशेष कार्यक्रम गर्ने भएसँगै इटहरीबाट मारुनी फिल्मको प्रचार व्यापक गरिएको हो ।

स्थानीय आयोजक रहेको परिकला मिडिया प्रालिले इटहरीमा रहेर मोडलिङमा रुचि राख्ने युवायुवतीलाई पूर्वकै पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको तालतलैयामा लगेर मारुनीको टिसर्टमा फोटो सुट गराउने काम गरेको छ ।

आइतबार इटहरीको मुख्य चोकको चारैतिर मारुनीको पोष्टर हातमा लिएर रोड क्याम्पेनिङ गरिएको छ । सो कार्यक्रममा स्थानीय मोडल तथा कलाकारको सहभागिता रहेको थियो ।

पुनम इन्टरटेनमेन्टका लागि पुनम गौतमले निर्माण गरेको फिल्म मारुनी भदौ १३ बाट देशभरका फिल्म हलबाट प्रदर्शन हुँदैछ । फिल्मको प्रमोसनका साथै महिलाको महान चाड तीजको अवसरमा खुसी र माया साट्न मारुनी फिल्मकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्का सहभागी हुने भएका छन् ।

उनीहरु दुवै जनाले नृत्य प्रस्तुत गर्ने भएका छन् । उनीहरुको साथमा फिल्मका निर्देशक नवल नेपाल, फिल्म निर्माता पुनम गौतमलगायतको समेत सहभागिता रहने छ । स्थानीय ब्याण्डको समेत प्रस्तुति रहने कार्यक्रममा अन्य स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको परिकला मिडिया प्रालिका सुवास सङ्कल्पले बताए ।

maruni  (2) maruni  (1) maruni  (3)