उर्लाबारीः मिस तामाङ प्रदेश नं. १ का सहभागीबीच परिचय एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

शनिबार उर्लाबारीमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । युवा पुस्तालाई तामाङ संस्कृति र संस्कारबारे जानकारी दिनुका साथै तामाङ समुदायका युवतीको व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धिका लागि मिस तामाङ प्रदेश नं. १ को आयोजना गरिएको उर्लाबारी नगरअध्यक्ष राजु घिसिङले जानकारी दिए । प्रदेश नं. १ भरका २२ जना तामाङ युवती बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।

बन्द प्रशिक्षण भदौ १ गतेदेखि मोरङको उर्लाबारीमा शुरु हुने सचिव राजकुमार योञ्जनले जानकारी दिए । बन्द प्रशिक्षणमा कोरियोग्राफर प्रियारानी लामाले सहजीकरण गर्ने उनले बताए । सङ्घीय संरचनामा देश गएपछि पहिलो पटक मिस तामाङ प्रदेश नं. १ को आयोजना गरिएको उनले बताए । छनोट भएका २२ जना युवतीलाई २५ दिन बन्द प्रशिक्षणमा राखेर विभिन्न क्षेत्रका विज्ञबाट व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, तामाङ संस्कृति र संस्कारबारे जानकारी दिइने जनाइएको छ ।

मिस तामाङ प्रदेश नं. १ का विजेतालाई स्कुटरसहित विभिन्न आकर्षक पुरस्कार, छात्रवृत्ति तथा ४ दिनको लागि दुबई टुरमा लगिने भएको छ । फस्ट रनरअपलाई नगद १ लाख, विभिन्न आकर्षक पुरस्कार, छात्रवृत्ति तथा ४ दिनको दुबई टुर प्रदान गरिने कार्यक्रम संयोजक रविन लामाले जानकारी दिए । त्यस्तै, सेकेन्ड रनरअपलाई नगद ५० हजारसहित विभिन्न आकर्षक पुरस्कार, छात्रबृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, ७ जनालाई सबटाइटल प्रदान गरिने छ । सबटाइटल विजेतालाई जनही १० हजार प्रदान गरिने छ । मिस तामाङ प्रदेश नं. १ को फाइनलमा मिस इन्डिया सिक्किम विजेता साङ्डोमा तामाङ, मिस तामाङ २०१४ की विजेता सुमी मोक्तान, कलाकार छुल्ठिम डोल्मालगायतको सहभागिता रहने जनाइएको छ ।