इटहरी:  भदौ १३ गते प्रदर्शन मिति तय गरेको ‘मारुनी’ फिल्मकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भदौ ४ गते इटहरी आउने भएकी छिन् । नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसर पारेर परिकला मिडिया प्रालिको स्थानीय व्यवस्थापनमा हुने तीज विशेष कार्यक्रममा नायिका साम्राज्ञीले नृत्य प्रस्तुत गर्ने भएकी छिन् ।

उनीसँगै ‘मारुनी’ फिल्मका नायक पुष्प खड्का पनि आउने छन् । उनले पनि नायिका शाहसँग नृत्य गर्ने भएका छन् । मारुनी नेपाल टुर इटहरी नाम दिइएको तीज विशेष कार्यक्रममा फिल्मका निर्देशक नवल नेपाल पनि सहभागी हुनेछन् ।

निर्देशक नेपालसँगै फिल्म निर्माता पुनम गौतम पनि इटहरी आउने पक्का भएको छ । उनीहरूका अलवा गायक कृष्ण काफ्ले र स्थानीय ‘डायानामिक’ ब्याण्डको विशेष प्रस्तुति रहने छ ।

कार्यक्रममा र्याम शो पनि हुने भएको छ । पुनम इन्टरटेन्मेन्टले निर्माण गरेको मारुनी फिल्मको देशव्यापी प्रचार गर्ने योजना अनुसार इटहरीमा कार्यक्रमको आयोजना गरिएको निर्देशक नवल नेपालले बताए । तीज विशेष कार्यक्रममा जनचेतनामूलक प्रस्तुति समेत रहने भएको छ ।

यसअघि पनि कलाकार माधव केसीको एकल सक्रियतामा मारुनी फिल्मको नयाँ शैलीबाट प्रदेश नम्बर १ का मुख्य शहरमा प्रचार भइसकेको छ । तीज विशेष कार्यक्रमले प्रचारमा थप बल पुग्ने आशा निर्माण पक्षले लिएको छ ।

इटहरीपछि फिल्म निर्माण युनिट नायिका र नायकसहित प्रचारका लागि भदौ ५ गते चितवन, ६ गते पोखरा, ७ गते बुटवल र ८ गते नेपालगन्जमा पुगेर जनचेतनामूलक कार्यक्रमसहित आफ्नो प्रस्तुति दिने छ ।

सबै स्थानमा स्थानीय ब्याण्ड तथा कलाकारको प्रस्तुतिसमेत रहने भएको छ । नेपालगञ्जको कार्यक्रमपछि अन्तिममा काठमाडौंमा पुगेर ‘मारुनी’ फिल्मका दर्शकसँगै पुगेर गरिने प्रचार (पब्लिसिटी)को पहिलो चरणको कार्यक्रम स्थगित रहने निर्माण पक्षले जनाएको छ ।

maruni