इटहरीः सुनसरीका चिनिएका नेकपा नेता मोतीराज सुनुवारको एक चुनावी गीत चुनावताका खुब चर्चित थियो । पछिल्ला संसदीय र स्थानीय तहका चुनावमा सुनुवारले गीत लेखेका थिएः

हावा चल्यो सरर...
एमालेको झण्डा फरर....

स्थानीय चुनावमा रचेको यो गीतले केही चर्चा पायो । धरानका नेता सुनुवारले स्थानीय सरकारको चुनाव अगाडि नै मेयर तारा सुब्बा र उपमेयर मञ्जु भण्डारी भन्दै अर्को एक चुनावी गीत बनाए । नतिजा नआई सुनुवारले लेखेको गीतमा टिप्पणी पनि आए । अन्ततः सुब्बा र भण्डारी नै मेयर र उपमेयरमा विजयी भए ।

चुनावी गीतको कुरामा सुनुवार सक्रिय हुँदा उनलाई बुझ्नेहरू खासै अचम्ममा परेनन् । तर, जब सुनुवारले एक रोमान्टिक गीतको विमोचन गराए तब उनलाई चिन्नेहरू आश्चर्यमा परे । गत असार १ गते युट्युबबाट सार्वजनिक भएको गीतको विमोचन सुनुवारले धरानको गोरखा डिपार्टमेन्ट स्टोर्सको सेमीनार हलमा गरेका थिए । नेकपा केन्द्रीय सदस्य धर्म निरौलाको प्रमुख आतिथ्यमा विमोचन भएको ‘सुनमाया...’ गीतले चर्चा र आश्चर्य दुवै बटुलेको स्वयम् सुनुवार स्वीकार्छन् ।

रेडियो नेपालकी चर्चित गायिका अम्बिका दवाडीसँगै रोमाण्टिक गीत गाएपछि आफ्ना शुभचिन्तक मात्रै होइन श्रीमती नै छक्क परेको सुनुवार बताउँछन् । उनी भन्छन्, ‘बुढियाले बुढा मान्छे कहीँ लभमा फस्यो कि भन्ने सोचिछिन् ।’ आफूले गीतको कथा भनेपछि भने श्रीमतीले सहज लिएको सुनुवार बताउँछन् ।

पार्टी जिम्मेवारी नपाएपछिको पीडामय गीतलाई प्रेमगीतमा रूपान्तरण
तत्कालीन एमालेका सुनसरीमा चिनिएका नेता हुन् मोतीराज सुनुवार । २०६९ कात्तिक ११ गतेसम्म एमाले सुनसरी सचिव भएका उनी यातायात मजदुर नेता पनि हुन् । २०५९ सालमा उनी नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष पनि भएका थिए ।

२०७० कात्तिक ११ गते भने एमालेसँगको उठबसमा खटपट आयो । उनले ११ गते धरानको होटल एम्बासडरमा पत्रकार सम्मेलन गरेर पार्टीबाट अलग भएको बताए । तत्कालीन पार्टी नेतृत्वले दोस्रो संविधानसभाको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैमा आफूलाई जानाजान माइनस गरेको बुझेर सुनुवारले पार्टीबाट अलग हुने निर्णय गरेको सो पत्रकार सम्मेलनमा बताएका थिए ।

तर, अलग भएको १० दिनमै तत्कालीन एमालेका केन्द्रीय नेता लालबाबु पण्डितदेखि मजदुर नेता ओम कोइराला आदिसँग बसेर सुनुवारले पुनः पार्टीमा आएको घोषणा गरे । पार्टीमा त आए । तर, पहिलेजस्तो जिम्मेवारी आएन । उनी सक्रिय जिल्ला नेताबाट सेरेमोनियल धराने नेताजस्ता मात्रै भए । उनी भन्छन्, ‘पार्टीसँग मन माझामाझ हुन नपाउँदाको फाइदामा केही साथीले भूमिकाविहीन बनाउन खोजे ।’

सक्रिय राजनीतिक भूमिकाबाट निस्क्रिय हुनुपर्दा सुनुवार बेचैन भए । उनले आफ्ना बह गीतमा पोख्न थाले । उनले लेखेः

पार्टीले मलाई घरमा ताला मारी लुकायो
झ्यालका प्वाल बन्द थ्यो ढोका पनि लगायो
मेरो त पार्टी खोजेर पटक पटक म म¥यो
आफ्नै त कर्म सम्झेर रुँदै बस्दैमा गयो

आफू यो गीतको अंशले कयाँैपटक आफैँ बेचैन भएको सुनुवार बताउँछन् । उनी भन्छन्, ‘कयौँपटक म बाथरुममा गीतका यी हरफसँग रोएको छु ।’
आफू र पार्टीको मन माझामाझ हुन नपाएर १० दिनको दौरानमा भएको दुर्घटनामा केही मान्छेले खेल्दा आफू समस्यामा परेको सुनुवार बताउँछन् । सोही क्रममा आफू ले गीतमार्फत् आफ्ना बह पोखेको सुनुवार बताउँछन् ।

आफूले आफ्नो पार्टीसँगको बह र पीडा गीतमा पोखेको बताएका सुनुवारले त्यही गीतलाई प्रेमिल गीत बनाएको बताए । आफ्नो पार्टीसँगको बह बजारमा लानुभन्दा त्यसलाई प्रेमिल लाइन दिएर लाँदा राम्रो हुने भएकाले आफूले यस्तो गरेको सुनुवारले बताए । पार्टीको ठाउँमा बाबु र राजा थपेर प्रेमिल गीत बनाएको भन्दै सुनुवारले आफ्नो प्रेमिल गीतको लाइन भनेः

बाबुले मलाई घरमा ताला मारी लुकायो
झ्यालका प्वाल बन्द थ्यो ढोका पनि लगायो
मेरो त राजा खोजेर पटक पटक म म¥यो
आफ्नै त कर्म सम्झेर रुँदै बस्दैमा गयो

पार्टीसँग सक्रिय नभए पनि जनतासँग सक्रियः

आफू १५ वर्ष जिल्ला कमिटिमा बसेको र पञ्चायतदेखि सक्रिय भएको पूर्व एमाले र प्रचण्ड नेतृत्वको पार्टी पूर्व माओवादी केन्द्र मिलेर अहिले नेकपा बनेको छ । नेकपाका जिल्ला, प्रदेशदेखि केन्द्रीय समिति बनेका छन् । यी जम्बो कमिटीमा धेरै मान्छे अटाएका छन् । सुनुवार भने कतै छैनन् । उनी भन्छन्, ‘यसमा मलाई गुनासो छैन । पार्टीको पदमा नभए पनि पब्लिकसँग पार्टीसँगै छु म ।’

आफूलाई कुनै सक्रिय जिम्मेवारी पार्टीमा नभए पनि जनताले भने पार्टीको उच्च नेताकै रूपमा आफ्ना गुनासा र विकासे आकाङ्क्षा सुनाउने सुनुवार बताउँछन् । उनी भन्छन्, ‘स्थानीय सरकार, प्रदेश सरकारदेखि सङ्घीय सरकार हाम्रो पार्टीको भएकाले मलाई गुनासा र विकासका चाहना जनताले सुनाउँछन् ।’

धरानमा मजदुरको अगुवाइमा सञ्चालित औजार दैनिक प्रकाशन समूहका अध्यक्ष सुनुवार दैनिक १ हजार ५ सय पत्रिका धरानका विभिन्न घरघरमा पु¥याउँछन् । भन्छन्, ‘पार्टीमा हुँदा पनि जनतासँगै हुनुपर्छ । म भने नहुँदा पनि जनतासँगै छु ।’

motiraj sunuwar song ambika duwadai Photo By Roshan Bhattarai