इटहरीः भारतको चर्चित टेलिभिजन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो र चौथो भएका बालगायक क्रमशः प्रीतम आचार्य र आयुष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । भेटमा प्रीतम र आयुषले सारेगमप रियालिटी शोमा सहभागी हुँदाको अनुभव सुनाएका थिए ।
हिजो बिहान ११ बजे प्रधानमन्त्रीसँग भेटघाट भई १ घण्टा कुराकानी भएको प्रीतमका सङ्गीत गुरु राजु केसीले बताए । भेटपछि प्रधानमन्त्रीले आफ्ना स्वकीय सचिवको साथमा भाटभटेनी सुपर मार्केटमा लगेर बालगायकलाई सपिङ गराएका थिए ।
भेटमा आचार्यले प्रधानमन्त्रीलाई ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीत गाएर सुनाएका थिए । प्रधानमन्त्रीले गायकद्वयलाई राम्रोसँग पढ्नुका साथै सङ्गीतको माध्यमबाट देशलाई चिनाउन शुभकामना दिएका थिए ।
भेटमा आयुष केसीले ‘आफ्नै घर ढलेको छ’ बोलको गीत गाएका थिए । भेघटघाटमा प्रधानमन्त्रीलगायत मिडियाकर्मी र उच्च ओहोदाका व्यक्ति सहभागी थिए ।
आचार्यको स्थायी घर इटहरी ५ मा रहेको छ ।