इटहरी/ पूर्वमा रहेर साङ्गीतिक क्षेत्रमा क्रियाशील गायिका सुनिता कट्वालले तीज गीतको एल्बम बजारमा ल्याएकी छिन् । लोक तथा आधुनिक गायिका कट्वालले आफ्नो चौथो तीज गीत ‘गाउँशहर’ बजारमा ल्याएकी हुन् ।
कट्वालका अनुसार उनले बर्सेनी तीजमा तीज गीत स्रोता र दर्शकसामु पस्किँदै आएकी छिन् । पाथीभरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको सो गीतमा प्रेम अधिकारीको शब्द तथा बलराम समालको सङ्गीत रहेको छ ।
सो गीतको भिडियोमा पूर्वेली कला केन्द्रका कलाकारको अभिनय रहेको तथा तुलसी घिमिरेले निर्देशन गरेको उनले बताइन् । भिडियोको छायाङ्कन शिरकुमार साम्पाङले गरेका छन् ।
आधुनिक गीत तथा आइटम गीतको एल्बम पनि साङ्गीतिक बजारमा ल्याइसकेकी कट्वालले तीजपछि ४ वटा गीत समेटेर नयाँ साङ्गीतिक एल्बम बजारमा ल्याउने बताइन् ।