भोजपुरः भोजपुरकी सविना ल्हो तामाङ उदाउँदो मोडलको रूपमा सङ्घर्षरत् छिन् । जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नं. ५ सानोदुम्मा घर भएकी २५ वर्षीया सविना अहिले काठमाडौंमा बसेर विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दैछिन् ।
त्यसबाहेक उनी गीत पनि लेख्छिन् । १२÷१३ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी सविना दुर्गममा जन्मिएर पनि अहिले अभिनयको क्षेत्रमा राजधानीमा डटेर लागिरहेकी छिन् ।
पछिल्लो समय सविनाकै शब्दमा गायक सुनिल छिदालको स्वर रहेको ‘तिम्रो याद...’ को भिडियो सार्वजनिक भएको छ । त्यस्तै, उनैले लेखेको हरेक साँझ बोलको गीतमा मेलिना राईले स्वर दिएकी छिन् ।
उच्च शिक्षासम्म भोजपुरमै अध्ययन गरेकी सविना छोटा चलचित्रमा पनि अभिनय गरिरहेकी छिन् । ‘सानैदेखि सङ्गीत तथा अभिनयमा रुचि थियो, उनले भनिन्, ‘त्यही भएर यता लागेँ ।’ सङ्घर्ष धेरै गर्नु परे पनि कामप्रति सन्तुष्ट रहेको उनी बताउँछिन् ।