उर्लाबारीः प्रतिभा प्रस्फुटनका लागि भन्दै आयोजना गरिने सौन्दर्य प्रतियोगिताका नाममा ठगी धन्दा भइरहेको पाइएको छ ।

झापा, मोरङ, सुनसरी लगायतका क्षेत्रमा बग्रेल्ती हुने यस्ता प्रतियोगिताका नाममा उक्त धन्दा चलिरहेको छ । जिल्ला प्रशासन कार्यालयमा स्वीकृत नै नलिई आयोजना हुने यस्ता प्रतियोगिताका कारण धेरै ठगिएको जानकारहरूको भनाइ छ । तर, सम्बन्धित निकायले यसप्रति ध्यान दिएको छैन ।

यस्तै, मोरङको उर्लाबारीमा बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने नाममा दमकको स्वागत डान्स सेन्टरले लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिता आयोजना गरेको छ । सहभागीलाई प्रशिक्षणका लागि भन्दै १ जना बराबर ८ हजार रुपैयाँ लिएको छ । यही जेठ १८ गते शनिबार यो प्रतियोगिताको फाइनल राउण्ड हुने जनाइएको छ । तर, कार्यक्रमको बारेमा कुनै प्रचार छैन । गाउँगाउँमा यस्ता प्रतियोगिताको नाममा कमाई खाने भाँडो बनाइरहँदा सरोकारवाला निकाय मौन देखिएको छ ।

६ वर्षदेखि १० वर्षसम्मका बालबालिकाको क्षमता विकास र अभिवृद्धिका लागि लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गराउने नाममा विकृति बढेको छ । उर्लाबारीमा पछिल्लो समय मिस उर्लाबारी, मिस टिन, मिस धिमालजस्ता सौन्दर्य प्रतियोगिता भएका छन् । तर, उपाधि विजेता गुमनाम छन् । आयोजकले पनि उनीहरूलाई सक्रिय बनाउन कुनै कदम चालेको देखिँदैन ।

यसै क्रममा अलराउण्ड इन्टरटेनमेन्ट फाउण्डेशन उर्लाबारीले बिहीबार पत्रकार सम्मेलन गरी सौन्दर्य प्रतियोगिताको नाममा विकृति बढेको भन्दै यस्ता प्रतियोगिता बन्द गर्नुपर्ने माग गरेको छ । फाउण्डेशनका अध्यक्ष शिवकुमार बिकले उर्लाबारीमा आफूहरूले लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिता पूर्वाञ्चल गर्ने घोषणा गरी तयारी थालिरहेको अवस्थामा अर्को संस्थाले उक्त प्रतियोगिता गरेकोमा आपत्ति जनाए ।

लिटल प्रिन्स एण्ड प्रिन्सेस उर्लाबारीका सहभागी दमकवासी
‘लिटल प्रिन्स एण्ड प्रिन्सेस उर्लाबारी भनिएको छ’ उनले भने, ‘दमकका बालबालिका समेटिएको छ । यसले त विकृति सिर्जना हुँदैन ?’ आफूले व्यावसायिक रूपमा भन्दा पनि उर्लाबारीको पहिचानका लागि प्रतियोगिता गर्दै आएको उनले दाबी गरे । उर्लाबारी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्य कार्यालय र कार्यक्रम व्यवस्थापन सङ्घ नेपालमा दर्ता गरी आफूहरूले फाउण्डेशन सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

यता, स्वागत डान्स सेन्टरका सञ्चालक स्वागत राईले भने सबै प्रकिया पु¥याएर प्रतियोगिता गरेको दाबी उनीसँग गरिएको फोन सम्पर्कमा गरे ।