प्रा. डा. यादवराज कोइराला अर्थशास्त्री, समाजशास्त्री र प्राध्यापक पनि हुन् । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणमा उनको संलग्नता लामो समयदेखि छ । प्राध्यापनको ३८ वर्षे दौरानमा आफ्नै जन्मथलो विराटनगरलाई प्राथमिकतामा राखेका कोइराला अहिले भने केन्द्रीय विभागमा प्राध्यापनरत छन् । निजामती सेवाको जागिर अस्वीकार गरी शिक्षण पेशामा होमिएका उनै कोइरालासँग हेमराज दाहालले गरेकाे कुराकानीः
शिक्षा के हो ?
शिक्षा व्यवहार हो, अनुभव हो, प्रकाशरूपी ज्योति हो अनि सम्मान हो । फगत कोरा ज्ञानलाई मात्र शिक्षाको धारणाभित्र राख्नु अपूर्ण छ ।
नेपालको शिक्षा प्रणालीका मजबुत पक्षहरू के छन् ?
हामीसँग धेरै चीजहरू छन् । दिन सक्ने प्रशस्त विषय हामीसँग छ । हामीसँग आफ्नै दर्शन छ । शिक्षाका उद्देश्यहरू सार्क राष्ट्रमध्येमै उत्कृष्ट छन् । तर अहिले भने पढ्ने र पढाउने वातावरण अलिकति धमिलिएको छ ।
वास्तविक समस्याहरू चाहिँ कहाँनेर देख्नुहुन्छ ?
सबैभन्दा ठूलो समस्या चाहिँ सोचमा नै छ । हामीमा शिक्षालाई मजबुत बनाएर लगियो भने देशको विकास हुन्छ भन्ने सोच अझै आउन सकेन । देश शैक्षिक माफियाको जालोमा फसिसकेको छ । नीतिनियम बनाउने सवालमा भन्नुहोस् वा कार्यान्वयनको सवालमा होस् आआफ्नै स्वार्थबाट अभिप्रेरित मानिसहरूको झुण्ड छ । त्यही झुण्डले जे भन्यो त्यहीअनुसार अगाडि बढ्ने सरकार छ । अनि हामी आमजनता अर्काको झोले भएर हिँड्दै फुर्सद छैन । त्यसैले समस्या प्रणालीमा, नीतिमा, जनशक्तिमा होइन समस्याको जड हामीभित्रको नकारात्मकता हो । जहिले हाम्रो सोच बदलिन्छ तहिले शिक्षा पनि बदलिन्छ ।
आ–आफ्नो ठाउँबाट सकेको भूमिका निर्वाह गर्न अघि बढौँ । अवश्य सुधार हुनेछ । सोचमा दृढता र कार्यान्वयनमा विज्ञता अहिलेको शिक्षा सुधारको प्रमुख आधार हो ।
त्यसो भए २१ आँै शताब्दीको शिक्षा कस्तो हुनुपर्छ त ?
आफ्नो विकास सँगसगै समाज र मुलुकको विकासमा पनि टेवा दिने खालको शिक्षा हुनुपर्छ । शिक्षा व्यक्तिकेन्द्रित भन्दा पनि समाज र चरित्रकेन्द्रित हुनुपर्छ । तर शुरुवातचाहिँ आफँैबाट गर्नुप¥यो ।
नेपालमा अहिलेको मुख्य समस्या भनेको शैक्षिक बेरोजगारले निम्त्याएको प्रतिभा पयालन हो । यसलाई रोक्न सक्ने भरपर्दो हतियार के हुनुपर्छजस्तो लाग्छ ?
सोचमा परिवर्तन ल्याउनुप¥यो । अर्काको चाहिँ जे कुरा पनि राम्रो देख्ने अनि आफ्नो चाहिँ नदेख्ने गर्नुभएन । दोस्रो कुरा, नेपालमा केही छैन, केही भएन, कसैले केही गरेन भन्दै अरुको कुरा काट्ने संस्कृति मौलाउँदै गरेको छ । यो नै सबैभन्दा जटिल समस्या हो जस्तो लाग्छ मलाई ।
हामी नकरात्मकताप्रति अलि बढी नै उन्मुख भएका छौँ । नकरात्मकताभित्र सकरात्मकताको सन्देश दिन सक्नुपर्छ । विदेश जाने कसैको बाध्यता छ होला कसैको रहर पनि होला । तर, विदेश जानेबित्तिकै सुन नै फल्छ भन्ने जुन सोच हामीमा छ त्यो परिवर्तन गर्नुपर्छ ।
के विदेशमा चाहिँ मिहिनेत गर्नु पर्दैन र ?
अझ यहाँ भन्दा धेरै नै गर्नुपर्छ । त्यो कुरा हामीले बुझेका छैनौँ । यो हाम्रो ठूलो कमजोरी हो । आफ्नो देशमा चाहिँ सानो र ठूलो काम भनी हेर्ने प्रवृत्ति छ । त्यही काम विदेशी भूमिमा गएर गर्न हामीलाई ठूलो लाग्छ । हो, यो सोचमा परिवर्तन हुन नसक्नु यसको कारण हो जस्तो मलाई लाग्छ ।
हामीले अर्काका लागि होइन आफ्ना लागि गर्नुपर्छ भन्ने भावनाको जबसम्म जागृत गर्दैनौँ तबसम्म परिवर्तन ल्याउन गाह्रो हुन्छ । यस्ता भावना जगाउन विद्यालयदेखि विश्वविद्यालयसम्म नै पाठ्यवस्तुहरू राख्नुपर्ने हुन्छ । त्यसैअनुसार अध्यापन गराउन जरुरी ठान्छु ।
यसरी अरुलाई आरोप लगाएर आफूहरू चाहिँ १० वर्ष पुरानो नोट कक्षामा बिस्कुन मात्रै लगाउँछन् प्राध्यापकहरू भन्छन् नि ?
त्यो हामीमाथि लाग्ने आरोप सही छ । हामी समयअनुसार परिवर्तित हुन नसकेको हो कि भन्ने भान हामी सबैले गर्नुपर्छ । समयको माग र आजको आवश्यकता पनि यही नै हो । विद्यार्थीलाई अनुसन्धानमूलक कार्यमा जोड दिनु अपरिहार्य ठान्छु । त्यसको अग्रसरता हामी स्वयमले लिनुपर्छ । पुरानै विधि र पद्धतिबाट निर्देशित पाठ्यक्रम भए पनि शिक्षण कौशललाई समयअनुसार व्यावहारिक र जीवनोपयोगी बनाउनुपर्छ । आर्थिक रूपले हामी पनि सबल हुने वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।
सबैको सपना निजामती कर्मचारी हुने नै हुन्छ तर तपार्इं त नियुक्तिपत्र अस्वीकार गरी शिक्षणमा होमिनुभयो, किन ?
मलाई आफू विद्यार्थी हुँदादेखि नै अरु क्षेत्रमा भन्दा पनि शिक्षण पेशामा रमाउन सक्छु जस्तो लाग्थ्यो । आफूले सिकेका जति पनि ज्ञान र सीपहरू छन् ती सबै स्वतन्त्रतापूर्वक राख्न पाउने ठाउँ भनेको मात्रै शिक्षण हो । यो मेरो रोजाइको कर्म हो । जुन बेला म शिक्षणमा प्रवेश गरेँ त्यतिखेर निजामतीमा मान्छेको आकर्षण अत्यधिक थियो । तर पनि मेरो आफ्नै निर्णयले म शिक्षण पेशामा आबद्ध भएको हुँ ।
अहिले पनि निजामती र शिक्षणमा ठूलो खाडल छ । आखिर दुवै राष्ट्रसेवक कर्मचारी हुन् । यो खाडल कहिले पूर्ण रूपमा हट्ला त ?
हुन त खाडल छ वा छैन भन्ने विषय हाम्रो मानसिकतामा भर पर्छ । म के भन्छु भने जुनसुकै पेशा होस् आफ्नो ठाउँमा त्यसको आफ्नै महत्व छ । सानो वा ठूलो भन्ने कुरा हामी आफैँले सिर्जना गरेको एउटा भावना मात्र हो । यो हाम्रो सोचाइ कतै आफ्नै जिनमा त छैन जस्तो लाग्छ ।
अझ भन्नुहुन्छ भने निजामती सेवाका कर्मचारीको उत्पादन पनि हामीले नै गरेका होइनाँै र ?
हो नि । यस सन्दर्भमा अलि चाखलाग्दो प्रसङ्ग छ ।
एकपटक जर्मन चान्सलर अन्जेला मर्केललाई डाक्टरले हाम्रो भन्दा धेरै तलब किन शिक्षकहरूको छ भन्ने जिज्ञासा राख्दा मर्केलले भनेकी थिइन्, ‘म तिमीहरूलाई निर्माण गर्नेको तलब तिमीहरूसँग कसरी तुलना गरौँ ?’ यो जवाफ अति मननयोग्य छ । तसर्थ सम्पूर्ण पेशाको जननी शिक्षण नै हो ।
तपाईं त पूर्वको मान्छे पूर्वमा रहनुपर्ने हो तर राजधानी केन्द्रित हुनुभो भन्ने गुनासो छ नि ?
म पूर्वमै छु । मेरो भोटर लिस्ट पनि यतै छ । घर पनि विराटनगरमै छ । मैले पूर्व छाडेकै छैन नि । तर कुरा के हो भने आफूलाई चिनाउने क्रममा एकपटक राजधानीमा पनि आफ्नो क्षमता किन नदेखाउने भनेर मात्रै आएको हुँ । यसमा अलिकति केही पारिवारिक कारणहरू पनि छन् ।