इटहरीः अनिच्छित यौन सम्पर्कलाई बलात्कार भनिन्छ । संसारभर बलात्कार महिलामाथि मात्रै हुन्छ भन्ने पुरातन मान्यता छ । बलात्कार हुनेमा सबैभन्दा धेरै महिला हुने संसारभरका अध्ययन र संयुक्त राष्ट्र संघको निकाय युएन विमेनको अध्ययनले पनि देखाउँछ ।
नेपालमा पनि बालिका र वृद्धाहरूको क्रुर बलात्कार भएका घटना एकपछि अर्को गर्दै आइरहेका छन् । नेपालको कानुनले पनि  हिंसामा पुरुषमा हुँदैन महिलामा मात्रै हुन्छ भन्ने कोणको कानुनी व्यवस्था अन्त्य भएकाे छ ।

बेलायतमा हरेक वर्ष १२ हजार पुरुषहरू महिलाबाट बलात्कारमा पर्ने अध्ययनले देखाएको छ । सरभाइभर युके डट ओआरजी (https://www.survivorsuk.org/) नामक एक संस्थाले पुरुष बलात्कारको विरुद्ध अभियान छेडिरहेको छ ।
सो संस्थाको आधिकारिक वेबसाइटका अनुसार हरेक वर्ष औसतमा १२ हजार पुरुषहरू बलात्कारमा पर्छन् । तर, सबैजसो बलात्कारका घटना प्रहरीमा रिपोर्ट नहुने सो संस्थाको भनाइ छ । केही समययता भने पुरुष बलात्कारका घटनाहरू क्रमशः बाहिरिन थालेको त्यो संस्थाको भनाइ छ ।
पुरुष बलात्कारको अन्त्यको लागि सरभाइभर युकेले धेरै अभियान पनि चलाइरहेको छ । पीडितहरूलाई उद्धार, सल्लाह र मनोपरामर्श दिन्छ उक्त संस्थाले । अनलाइनबाटै पनि उक्त परामर्श लिन सकिने व्यवस्था संस्थाले गरेको छ ।