तस्बिरः लक्ष्मण थापा
धरानः धरान जेसीजले आयोजना गरेको छैटौं टेस्टी–टेस्टी मिस एसईई–२०१९ को उपाधि प्रज्ञा भण्डारीले जितेकी छिन् । उनी धरान–१३ स्थित लोटस विद्या विहारकी विद्यार्थी हुन् ।

उनले मिस एसईई–२०१९ को उपाधिसहित ताज, शिल्ड, प्रमाणपत्र, ४० हजार रुपैयाँ, १ थान मोबाइल सेट, क्वालिटीका उत्पादनहरूमा ब्राण्ड एम्बेसडरसहित धरानको आदर्श कलेजमा कक्षा ११ र १२ को पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छिन् ।

प्रतियोगिताको फस्ट रनरअप धरान–९ स्थित विष्णु मेमोरियल स्कुलकी सिम्रन हलवाई बनिन् भने सेकेण्ड रनरअप सिम्रन खड्गी बनिन् । फस्ट रनर अप हलवाईले ताज, शिल्ड, प्रमाण पत्र, नगद ३५ हजार रुपैयाँ तथा कक्षा ११ र १२ का लागि ७५ प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन् । सेकेण्ड रनरअप खड्गीले ताज, शिल्ड, प्रमाणपत्र, नगद ३० हजारसहित कक्षा ११ र १२ मा ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन् ।

टाइटलतर्फ बेस्ट ड्रेस पनि सेकेण्ड रनरअप सिम्रन खड्गीले नै जितिन् । त्यस्तै, बेस्ट क्याटवाकमा लोजी लिम्बू, मिस इन्टलेक्चुअलमा रजनी लिम्बू, मिस एक्टिभमा दीपशिखा लिम्बू, मिस फोटोजेनिकमा मिङ्सो लिम्बूले उपाधि पाए ।

बेस्ट पर्सनालिटी नमलिङ्मा लिम्बू, मिस फिटनेस अंशु कार्की, मिस ट्यालेन्ट सोनिया बजाज, मिस हस्पिटालिटी अनिसा श्रेष्ठ र मिस डिसिप्लिन अलिस्कारत्ना नेपालीले जितेका छन् । प्रतियोगिताको मुख्य निर्णायक पूर्व मिस नेपाल उषा खड्गी, प्रा.डा. सञ्जीव शर्मालगायत रहेका थिए ।