‘मुडुलो तालुमा दौडिएको हात रोकियो । सपना हो या विपना, थाहा पाउनै सकिनँ । यताउति आँखा नचाएँ रातो रिबनसहितको कपालको चुल्ठो हिजो खाना ल्याएको प्लास्टिकमा थियो ।
आवरण उपन्यासभित्रको अति कारुणिक रोदन हुन् माथिका वाक्यांश । आफ्नो प्राकृतिक अस्तित्व खोजिरहेको एक पात्रको आँशुको कथा, शून्य अस्तित्वको कथा । प्रकृतिको निष्ठुर संरचनामाथिको प्राकृतिक प्रश्न ।
यो उपन्यास जया ओझाद्वारा लिखित उपन्यास हो । उनी एन्टेना फाउन्डेसनसँग सम्बद्ध नाटक लेखक र गीतकारको रूपमा परिचय बनाइसकेकी स्रष्टा हुन् । २०७३ सालमा शिखा बुक्सबाट प्रकाशित यो पुस्तक कहिले किनेर ¥याकमा राखें, बिर्सिएँछु । नपढेका किताब केके छन् खोज्दै जाँदा यो भेटियो ।
प्रकाशनको समयमा खास चर्चा भएन या मैले याद गरिनँ, कसरी हो यो पढ्न छुटेछ । जे होस्, तीन वर्षपछि मेरो लागि नयाँ यो किताब पढिसकेपछि नलेखिरहन सकिनँ । हाल दोस्रो संस्करणको तयारीमा रहेछ जुन यसको सफलताको पक्ष देखियो ।
यो उपन्यासमा अन्तरलिङ्गीहरूको जीवन भोगाइलाई समेटिएको छ । प्रकृतिले महिला वा पुरुषको संरचनामा सृष्टि गरेका पूर्ण लिङ्गीहरूमा समाजले हेर्ने दृष्टि सग्लो पाइन्छ तर द्विलिङ्गी वा अन्तरलिङ्गीहरूलाई हेर्ने नजर कति कठोर र नीच हुन्छ भन्ने सामाजिक दुखाइ यो उपन्यासमा पढ्न पाइन्छ ।
मान्छेले आफूले रोजेको लिङ्गमा जन्मिन सक्दैन न त जन्माउन नै सक्छ यो त नितान्त जैविक र प्राकृतिक प्रक्रिया हो । त्यसो भनिरहँदा हालको लिङ्ग रोजाइ र छोरी भु्रण त्यागका कुरा उठ्न सक्लान् तर लिङ्ग निर्माण मान्छेले रोजेर बन्न सक्दैन भन्नेमात्र हो । यति जानेर पनि मान्छे अन्तरलिङ्गीप्रति अति नै निर्दयी र घृणित नजरले खनिन्छ मानौं ऊ आफैले जानीजानी सो लिङ्ग रोजेर जन्मिएको हो ।
हामी समाजमा महिला अधिकारका र अस्तित्वका सवालमा आवाजहरू लेखिरहेका, पढिरहेका र बोलिरहेका छौं । यो उपन्यास पढ्दा लागिरह्यो, कम्तीमा महिलाहरूलाई लिङ्गको नजरबाट घृणा त खप्नुपर्दैन । समाजले तोकिदिएका लुगा त लगाउन पाइएको छ । कम्तीमा प्राकृतिक रूपले छोरी, पत्नी, बुहारी, आमा आदिआदि नाताले सजिन त पाएका छौं ।

जिम्मेवारीले दिएको चुलो त सम्हाल्न पाएका छौं । कम्तीमा महिला भएका नाताले राज्यसँग बाझ्न त पाएका छौं । जेजस्तो भए पनि पूर्ण मान्छे त छौं । समाजले हाम्रो शरीर र हाउभाउ हेरेर घृणा त गर्दैन चाहे सामाजिक, आर्थिक र राजनैतिक अधिकारले जतासुकै परूँ ।
मान्छे हो, लिङ्ग जे लिएर जन्मिए पनि उसले गर्न नसक्ने केही हुँदैन जो आम मान्छेले गर्छन् । तर समाजले उठाइदिएका पर्खाल, अवहेलना र तिरस्कारले मान्छेलाई सकारात्मक कुरामा कमजोर र नकारात्मक कुरामा दृढ बनाइदिन सक्छ तर अन्तरहृदयको कुनै कुनामा इख र असाधारण शक्ति हुर्काइरहेको पनि हुन्छ र असह्य भएपछि कुनै न कुनै अवस्थामा यो शक्ति बाहिर निस्किएरै छोड्छ ।

उपन्यासको प्रारम्भ अत्यन्तै कठोर र हृदयविदारक भए पनि यसको अन्त्यलाई उपन्यासकारले एउटा सफल कहानी बनाएकी छिन् । यो कुरा उपन्यासको शक्तिशाली पक्षको रूपमा देखिएको छ । उपन्यासमार्फत् उनी भन्छिन् कुनै पनि सफलताको मार्ग प्रेम र घृणा दुवैले तय गर्दछ । उपन्यासको अन्तरलिङ्गी पात्र ( जीवनको प्रारम्भमा ज्योति र किशोरावस्थामा किरण नामबाट परिचित) ले, जस्तै अपमानमा पनि आमाबाट बाँच्न सिकेको प्रेरणा, तिरस्कृत भएर फ्याँकिएको अवस्थामा साथीले दिएको शरणले जीवनमा केही गर्ने प्रेरणा मिलेको देखाइएको छ ।
परिवारबाट अझ त्यसमा पनि बाबुबाट पाएको घृणाको फलस्वरूप बढेको ईखले पनि समाजमा केही गरेरै देखाउँछु भन्ने अठोट लिएकै कारण घमण्डको वृक्षलाई झुकाउन सफल छ उपन्यास ।
उपन्यासकारले म पात्रको माध्यमबाट उनीहरूले भोग्नुपरेका सबै पीडाहरू बोलेकी छिन् । ज्योति÷किरणलाई आमाले सुनाएका आधारमा बाल्यकालका र आफूले जान्ने भएपछि उनले भोगेका सबै पीडाहरूको नालीबेली उपन्यासमा पढ्न पाइन्छ जुन आम अन्तरलिङ्गीहरूका साझा पीडा हुन् । आन्तरिक यौनिक विकास र संवेगात्मक विकास एक तवरले हुनु, शारीरिक वृद्धि र विकास अर्कै तवरले हुनु साँच्चै पीडादायी हुँदोरहेछ उनीहरूका लागि । त्यही पीडाको घाउमा नुनचुक छरिरहँदो रहेछ समाज । यही रहस्यलाई उपन्यासकारले आम पाठकमाझ पस्किदिएकी छिन् उपन्यासमार्फत् ।
पटकपटक आँखा भरिएर आउँछ उपन्यास पढिरहँदा । कहिले आमाको आँशु भएर झरिन्छ, कहिले ज्योति÷किरणको आँशु बनेर झरिन्छ । पाठकको मनबाट पग्लिएर आँखाबाट झर्न सक्नु लेखकीय खुबी हो । यस कुरामा सफल देखिन्छिन् लेखक ।
एउटी आमाले परिवार, समाज र स्वयम् लोग्नेले तिरस्कार गरेको अन्तरलिङ्गी सन्तानलाई कुखुराले चल्ला छोपेझैँ छोपेर, दुनियाँका सबै वचन सहेर हुर्काउनु चानचुने कुरा हँुदैन । आमाको सन्तानप्रतिको यो त्याग, उही सन्तानका लागि आमाले भोग्नुपरेको अपमान, आमाका आँशु, हृदयको चोट उपन्यासमा सजीव भएर उभिन्छ ।

सयौँ पटक, हजारौं पटक समाजले दिएको प्रहारबाट आमा छियाछिया नहोलिन् ? ंयति हुँदाहुँदै पनि आमा आफ्नो सन्तानलाई जीवनमा बाँच्नका लागि, हाँस्नका लागि प्रेरणा दिइरहन्छिन् जुन आम आमाहरूको भन्दा कठिन देखिन्छ । आमाका मुखबाट लेखक यसो भनाउँछिन्, ‘तैँले मलाई सानोमा सोधेको थिइस् नि, म केटाको ट्वाइलेट जानू कि केटीको ? त्यो दिनदेखि म कुनै रात आरामले निदाउन सकेकी छैन ।’
एउटी आमालाई योभन्दा ठूलो पीडा के होला ? तथापि सकेसम्म सन्तानका सामु आँशु लुकाएर सन्तानलाई जीवन सिकाइरहन्छिन् । आमाले भोग्नुपरेका यी र यस्तै दुःखहरूलाई सचित्र देखाएकी छिन् लेखकले ।

उपन्यासमा गाउँले जीवनदेखि शहरिया जीवनसम्मको चित्रण गरिएको छ । सशस्त्र जनयुद्धले पारेको प्रभाव, युद्धमा सहयात्री रहेका तर मारिएका योद्दाका सन्तानहरूलाई सत्तामा पुगेपछि बाबुसमानको व्यक्तिबाट गरिबी र सहाराविहीनहरूको बाध्यताको फाइदा उठाउँदै उनीहरूमाथि भएका यौनिक अपराध पनि उपन्यासमा समेटिएको छ ।

सामान्य परिवारबाट हुर्किएर सशस्त्र जनयुद्धको भूमिगत जीवन कटाएर एक सम्मानित व्यक्तित्वको पहिचान बनाइसकेको अझ भनौं मन्त्री नै भइसकेको बाबु पात्र यति निर्दयी, कठोर र क्रुर हुन सक्छ भन्ने कल्पनासमेत गर्न सकिन्न यो उपन्यास नपढुञ्जेल । समाज, राष्ट्र र विश्व परिवर्तन गर्न हिँडेको मान्छेले आफ्नै बीजबाट जन्मिएको सन्तानलाई सन्तानसम्म भन्न नसक्ने असामाजिक अपराधी पात्रको रूपमा बाबु पात्रलाई उभ्याइएको छ ।
समाज परिवर्तनको लक्ष्य लिएर हिँडेको अव्यावहारिक लोग्नेसँग हैरान भएकी आमा पात्रको गुनासो यसरी पोखिदिएकी छिन् लेखकले, ‘समाजमा राम्रो कुरा गरेर देशमा परिवर्तन गर्न खप्पिस् हुँ भन्थे उनी । आफँैलाई परिवर्तन गर्न सकेका थिएनन् । उनको खुला परिवर्तन भाषणमा मात्र सीमित थियो । तिम्रो स्वतन्त्रतालाई उनले चार पर्खालभित्र थुनेका थिए ।’

यो एउटी आमाको गुनासोमात्र नभएर यथास्थितिवादी आम नेताहरूको प्रवृत्तिको वर्णनसमेत हो । उपन्यासको विषय सँगसँगै लेखकले हाम्रो परिवेशलाई आफ्नो उपन्यासमा उनेकी छिन् ।
अन्तरलिङ्गीहरूका समस्या प्रत्येक पाइलामा हुँदारहेछन् । हामी पूर्णलिङ्गीहरूका सामान्य दृष्टिले ती समस्या भेट्न सकेका हँुदैनरहेछौँ । लेखकहरू यही कुरामा चतुर हुन्छन् जो अदृश्य कुराहरू पनि देखेरै छाड्छन् । उपन्यासकारले अन्तरलिङ्गीहरूका यी पीडाहरू, अवरोधहरू, छटपटीहरू, सबैलाई पाठकसामु आफ्नै भोगाइजस्तै भोगाएकी छिन् । एकैछिनको लागि भए पनि पाठक यी सबै पीडामा आफू डुबेको अनुभूत गर्दछ । पाठकलाई आफ्नै कथा होजस्तो भनाउन सक्ने सामथ्र्य लेखकको सामथ्र्य लाग्छ ।

मान्छे हुर्कँदै किशोरावस्थामा पुगेपछि शारीरिक, मानसिक र यौनिक रूपमा परिवर्तन हुन्छ । आम मानिसमा झैँ अन्तरलिङ्गीहरूमा पनि यौन चाहना बढ्छ नै तर व्यक्त गर्ने कुनै माध्यम नै हुँदैन । स्वतस्फूर्त निस्किहालेका हाउभाउहरूलाई समाजले अत्यन्तै नीच आँखाले हेर्छ ।
हेर्छमात्रै होइन यौन विकृति बढाएको आरोप नै लगाउँछ । यो दुखेसोलाई लेखकले म पात्रमार्फत् व्यक्त गराएकी छिन् । त्यतिमात्र होइन यस्ता मानिसहरू बलात्कारको सिकार हुने अत्यन्तै तीतो घटनालाई पनि यसमा समेटिएको छ । बलात्कारबाट सिर्जना भएको घटनाबाट नै खास उपन्यासको उठान भएको छ ।
यसरी हेर्दा अन्तरलिङ्गीहरू यौनका मामलामा पनि सुरक्षित नदेखिने वास्तविकता यहाँ प्रस्तुत गरिएको छ । जन्मबाट नै प्रारम्भ भएको पहिचानको पर्खालले न छोरा वा छोरी हुन दिन्छ, न किशोर वा किशोरी हुन दिन्छ न त युवा वा युवती नै हुन दिन्छ न त महिला वा पुरुष नै हुन दिन्छ । सधैँभरि अन्योलको यो अपहिचानले कपाल काट्ने कि बाट्ने, नाक छेड्ने कि नछेड्ने, साथी कसलाई बनाउने, लुगा कस्ता लगाउने, शृङ्गार गर्ने कि नगर्ने, कसरी नुहाउने, कसरी उठबस गर्ने ? स्कुलमा छात्र लेख्ने कि छात्रा लेख्ने यी सबै सधैं खेदिरहने उनीहरूका समस्यालाई उपन्यासमा प्रस्तुत गरिएको छ ।

समाजमा नदेखिएका यस्ता गम्भीर विषयलाई लेखकले साहित्यका माध्यमबाट अघि सारेर ठूलो गुन लगाएकी छिन् । हामीजस्ता आम पाठकहरूको चेतनामा नयाँ कुरा भरिदिएकी छिन् र समलिङ्गी वा अन्तरलिङ्गीहरूका क्षेत्रमा काम गर्नेहरूका लागि पनि यो उपन्यासले मार्ग प्रशस्त गर्ने कुरामा दुई मत छैन ।
यति हुँदाहँुदै पनि पाठकका हैसियतले केही कुरा भन्ने जमर्को गरेँ । पहिलो कुरा बाबुलाई त्यति निर्दयी नबनाएको भए हुन्थ्यो भन्ने लागिरह्यो । जे जस्तो भए पनि आफ्नो सन्तानलाई सन्तान नै होइन भन्ने, ल्याएका बिस्कुट चकलेटहरूसमेत अरु छोराछोरीलाईमात्र दिने, हुँदाहुँदा आफ्नै सन्तानलाई कसरी मालवाहक ट्रकमा हालिदिएर थाहा नपाए झैँ ग¥यो होला भन्ने लागिरह्यो ।

अर्को कुरा म पात्रका दिदी र भाइ हुनुपर्नेमा कतैकतै दाजु र बहिनी भन्नेसमेत भेटियो । तथापि समग्रमा उपन्यासले उठाएको विषय र प्रस्तुतिका दृष्टिले आवरण उपन्यास एक सफल उपन्यास हो र समलिङ्गी वा अन्तरलिङ्गीहरूमाथि भइरहेको यस्तो विभेदपूर्ण दृष्टिमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सकारात्मक सन्देश छोड्न सफल भएको छ ।