तपाईँ कथा, कविता र मुक्तक लेख्नुहुन्छ, तपाईँलाई आफू, कथाकार, कवि वा मुक्तककार के हुँ जस्तो लाग्छ ?

विषयवस्तुको विविधता साहित्यमा हुन्छ नै । आफूलाई छोएको विषयवस्तुलाई कुन विधामार्फत् व्यक्त गर्न सजिलो हुन्छ, त्यही विधा प्रयोग गर्छु म । कवि, कथाकार, मुक्तककार म के हुँ ? म आफै कसरी भनूँ ? अन्योलमा छु । कयौंले कविता लेखेर, कथा लेखेर पनि कवि कथाकार हुन नसकिरहेको अवस्था छ । तथापि मेरो प्रिय विधा कविता हो । धेरैले कवि भन्छन् हो कि जस्तो पनि लाग्छ । सायद कवि हुँ ।

तपाईँले पढेकामध्ये मन परेका पाँच पुस्तक कुनकुन हुन् ?
धेरै किताबहरू पढियो । तिनैका शक्ति र सामथ्र्यले साहित्यतर्फ अभिरुचि बढ्यो । ५ ओटा किताबको नाम लिँदा अन्याय हुन्छ कि ? तर अझै पनि मलाई भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, बीपी कोइरालाको ‘तीन घुम्ती’, रमेश विकलको ‘नयाँ सडकको गीत’, पारिजातको ‘शिरिषको फूल’ र विजय मल्लको ‘कोही किन बरबाद होस्’ औधी मन पर्छ ।

हाल कुनकुन किताब पढ्दै हुनुहुन्छ ?
म अहिले कुनै एउटै पुस्तकमा केन्द्रित रहेर पढिरहेको छुइनँ । व्यस्तता बाधक बनेको छ । केही फुटकर रचनाहरू पढ्छु । अहिले चर्चामा आएका केही पुस्तकहरू पढ्ने सूचीमा छन् । समय मिलाएर पढ्नेछु । अनेक व्यस्तताले सिर्जना र अध्ययनमा अवरोध पुगेकोमा कहिले त दिक्क पनि लाग्छ ।

तपाईँको विचारमा किताब पढ्नु किन आवश्यक छ ?
जसरी गर्मीमा बतासले शीतलता, जाडोमा घामले मृदु न्यानो, फूलले सौन्दर्य र सुवास दिन्छ त्यसरी नै मन परेका पुस्तकले पनि एउटा बेग्लै आनन्द र सन्तुष्टि दिन्छ । त्यसैले म पुस्तक पढ्न रुचाउँछु । पुस्तक चेतना र ज्ञानको भण्डार पनि हो र बौद्धिक परिष्कारको माध्यम पनि ।

कविता र आख्यान लेखनमा तपाईँलाई मन पर्ने पछिल्लो पुस्ताका ३ जना स्रष्टाको नाम भन्नुस् न ।
अहिलेका युवा पुस्ताका मन पर्ने कवि आख्यानकारहरू धेरै छन् । ३ जनाको मात्र नाम छान्न अप्ठ्यारो लागिरहेछ । तर पनि धेरैमध्ये मुकुन्द प्रयास, रावत र अमर न्यौपाने यी तीन युवा स्रष्टा मलाई मन पर्छन् । जसले जीवन, समय र प्रकृतिलाई आफ्ना कवितामा र आख्यानमा कलात्मक रूपमा प्रस्तुत गरेका हुन्छन् ।

तपाईँको आफ्नो मन पर्ने एउटा रचना कुन हो ?
म आफ्ना सिर्जनामध्ये मलाई यो कविता मन पर्छ भनेर आफ्नो एउटा कविता छुट्याउन सक्दिनँ । शायद यो मेरो कमजोरी हो । हरेक कविताको विषय, भाव, विचार र अनुभूति फरक फरक हुन्छ । र ती सबै कविताको आआफ्नै महत्त्व छन् । यद्यपि ‘एउटा कविता बगर भएको बस्तीलाई’ र ‘बग्दै जाने छोरालाई’ कविता विशेष प्रिय लाग्छन् ।

शुरु र अहिलेको आफ्नो लेखनमा कति भिन्नता देख्नुहुन्छ ?
परिवर्तन सामयिक र प्राकृतिक कुरा हो । स्वाभाविक रूपमा लेखनमा पनि यी कुरा लागू हुन्छन् । हिजोको लेखनको तुलनामा मेरो आजको लेखनमा केही भिन्नता पक्कै छ । त्यो सबै समय, परिस्थिति र परिवेशको प्रतिफल हो । एउटा सर्जक सधैं आफूभित्र परिष्कार खोजिरहेको हुन्छ । त्यो मोह मभित्र पनि छ ।