एउटा परदेशीले धेरै थोक छुटाउँछ
जन्मिएको घर,
आँगन र बलेंसी छुटाउँछ,
साथीसँगी र मेलापर्म छुटाउँछ,
हरेक साँझ आँपको रुखमा जूनसँग
सोइसोइला खेल्न छुटाउँछ,
प्रत्येक बिहान सपनाहरूलाई कोरीबाटी गरी
घामसँगै फिँजाउन छुटाउँछ,

एउटा परदेशीले धेरै थोक छुटाउँछ,
आफ्नै बगैंचामा फक्रेको
फूलको सौन्दर्य चुम्न छुटाउँछ,
माथि पहाडहरूमा खेल्ने भुइँकुहिरोको
लुकामारी हेर्न छुटाउँछ,
आफ्नै देशको माटोबाट हररर्र आउने
माटोको सुगन्ध लिन छुटाउँछ,
हरपल आफूतिर फर्किरहने
जीवनको लय बुन्न छुटाउँछ,

एउटा परदेशीले धेरै थोक छुटाउँछ
नानीहरूलाई तातेताते गर्न छुटाउँछ,
रोगी बुवाको दुखिरहने गानो थिच्न छुटाउँछ,
बुढी आमाको आँखाबाट निस्किरहने
कचेरा पुछ्दै औषधी हाल्न छुटाउँछ,
प्रत्येक एक्लोपनामा प्रियसीलाई आत्मीयताको कसिलो अँगालो हाल्न छुटाउँछ,

एउटा परदेशीले धेरै थोक छुटाउँछ
जस्तो,
खेत, खलियान र करेसाहरूमा
उत्साहका लहलह बाली झुलाउन छुटाउँछ,
प्रत्येक दीपावलीमा चेलीबाट
सप्तरङ्गी टीका थाप्न छुटाउँछ
सद्भाव र भाइचाराको देउसी खेल्न छुटाउँछ,
प्रत्येक उभौली, उँधौली र चासोक तङनामहरूमा
जीवनका साम्लोहरूले (गीतहरूले)
ढोल र झ्याम्टाहरूलाई सुम्सुम्याउन छुटाउँछ

एउटा परदेशीले धेरै थोक छुटाउँछ
जीवनको हाक्पारे सुनेर
जीवनलाई जीवनजस्तै बनाउन छुटाउँछ
सापटी लिएर हिमालबाट अलिकति हाँसो
माटोसँगै बसेर हाँस्न छुटाउँछ ।

घर छोडेपछि
सबैभन्दा प्रमुख त एउटा परदेशीले
आफ्नै जिन्दगी छुटाउँछ ।