धनकुटाः धनकुुटाका स्थानीय तहमा नेपाली कांग्रेसले करविरोधी अभियान शुरु गरेको छ । आर्थिक हैसियतको अनुपातमा करवृद्धि हुनुपर्ने भन्ने माग गर्दै नेपाली कांग्रेस धनकुटाले स्थानीय सरकरको ध्यानाकर्षण गराएको हो ।
अहिलेसम्म चौबिसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा पुगी करवृद्धिबारे पुनर्विचार गर्न माग गरिएको नेपाली कांग्रेस धनकुटा क्षेत्र नम्बर १ का सभापति जितेन्द्र राईले प्रदेश पोर्टललाई जानकारी दिए । उनले भने, ‘हामी पार्टीको अभियानअनुरूप जिल्लाभरका सातै स्थानीय तहमा पुगी स्थानीय सरकार प्रमुखलाई ज्ञापन पत्र बुझाउनेछाैं।
पार्टी केन्द्रीय कमिटीको निर्देशनअनुसार देशैभरि करवृद्धिबारे जनताको पक्षमा आवाज उठाउने अभियान जारी छ । सोहीअनुसार एक साताभित्र धनकुटाका अन्य स्थानीय तहमा करवृद्धिलाई पुनर्विचार गरी कार्यान्वयनमा ल्याउन माग गरिने राईले जानकारी दिए ।
उनले जिम्मेवार प्रतिपक्ष भएको नाताले जनतालाइ कर तिर्ने बानी बसाल्न पनि शुरुमै चर्को कर असुल्नु अवैज्ञानिक हुने ठहर गर्दै सोहीअनुसार सुझाव पनि दिइएको उल्लेख गरे ।
कमजोर आर्थिक अवस्था हुने र सम्पन्न व्यक्ति किटान गरी कर वर्गीकरणको प्रयास नै वैज्ञानिक बाटो हुने र सोहीअनुसारको सुझाव पेश गरिएको उनले बताए ।
कतिपय स्थानमा दोहोरो कर लगाइएको नेपाली कांग्रेस धनकुटा जिल्ला समितिको ठहर छ । सो करलाई जनमैत्री बनाउन करको दर घटाउँदै दायरा बढाउनुपर्ने र जनतालाई एकै पटक भारी हुने गरी करवृद्धि गरिनु अनुचित हुने समितिको निष्कर्ष छ ।
जिल्ला समितिको धारणाबारे जानकारी दिँदै राईले भने, ‘जनतालाई एकै पटक जरिवाना भन्दा कर तिर्ने बानी बसाउन प्रोत्साहनको खाँचो छ । हामी जिम्मेवार प्रतिपक्षले जनतालाई प्रोत्साहन गर्न र करको सही सदुुपयोगबारे जानकारी दिन सचेत गराएका हौँ ।’
उनको जानकारीअनुसार साँगुरीगढी गाउँपालिकाले करवृद्धिबारे पुनर्विचार गरी केही शीर्षकमा कर घटाइसकेको छ । कांग्रेस धनुकाटाले अन्य स्थानीय सरकारले पनि वृद्धि भएको चर्को करबारे प्रमुखहरूले पुनर्विचार गर्ने र जनतालाई सहज हुने विश्वास लिएको उनले जनाए ।