बेलबारी: नगर क्षेत्रभित्रका गायन प्रतिभाहरूको खोजी गरी प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजित (सुर सप्तक बेलबारी आइडल २०७६) को पहिलो चरणको अडिसन सकिएको छ ।
बेलबारीका ३ स्थानमा भएको अडिसनमा २० जना दोस्रो चरणका लागि छनोट भएका छन् । बेलबारीको ६, ११ र ३ नम्बर वडामा गरेको छनोट प्रतियोगितामा १ सय ११ जनाले सहभागिता जनाएको आयोजक स्रस्टा समाजका कार्यक्रम संयोजक जेबी थुलुङले बताए ।
गाउँमा लुकेका व्यक्तिहरूको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडा नम्बर ७ ले भने सहभागिता नजनाएको आयोजकले जानकारी दिएको छ ।
‘पहिलो चरणको छनोट सकिएको छ’, संयोजक थुलुङले भने, ‘अब छनोट भएकालाई १ महिने प्रशिक्षण गरेर पुनः छनोट गरी फाइनल चरणमा प्रवेश गर्छाँै ।’ बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा स्रष्टा समाज बेलबारीको आयोजनामा भएको सो आइडलको उपाधि विजेताले नगद १० हजार, उपविजेताले नगद ७ हजार रुपैयाँ र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइनल असार दोस्रो हप्ताभित्रमा गर्ने थुलुङले बताए । बेलबारीमा स्थानीय स्तरबाट आयोजित यो पहिलो गायन प्रतियोगिता हो ।