इटहरीः चलचित्र निर्माणको क्षेत्रमा हँुदै आएको केन्द्र र मोफसल भन्ने विभेदको अन्त्य गर्नका लागि प्रदेश नम्बर १ का चलचित्रकर्मीहरू एक भएका छन् ।
लामो समय चलचित्रकर्ममा लागेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल चलचित्रकर्मीहरूको भेलाले चलचित्र महासङ्घ प्रदेश नम्बर एक गठन गरेको हो ।
थुप्रै आदिवासी चलचित्र बनाएर अन्तर्राष्ट्रिय अवार्ड समेत हात पारेका धरान निवासी अरुण प्रधानको अध्यक्षतामा समिति गठन भएको हो । प्रधान इराक घटनामा ज्यान गुमाएका नेपाली युवाहरूको कथामा आधारित चलचित्र ‘१२ नेपाली एक चिहान’ का निर्देशक समेत हुन् ।
काठमाडौं बाहिरबाट पनि अब्बल चलचित्र निर्माण गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्न सफल प्रधानको नेतृत्वमा बनेको महासङ्घले प्रदेश नम्बर १ को चलचित्र क्षेत्रको विकासमा टेवा पु¥याउने विश्वास लिएको अग्रज चलचित्रकर्मी प्रेम सुब्बाले बताए ।
ह्वाइट हाउस कलेज इटहरी शाखाले कलेज परिसरमा बिहीबार महासङ्घमा आबद्ध चलचित्रकर्मीहरूलाई स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो । प्रधान सो कलेजका सञ्ंचालक समेत हुन् । सुब्बाले समेत केन्द्र (काठमाण्डौं)मा रहेर काम गर्दा असल र बाहिरबाट गर्दा खराब भन्ने मानसिकताले प्रदेश नम्बर १ का चलचित्रकर्मी पीडित भइरहनुपरेको बताए । अब महासङ्घले यस्ता कुराहरूमा समेत लडाइँ गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा पर्शुराम चौधरी, उपाध्यक्षमा प्रकाश सुब्बा र लाखमान योन्जनलाई चयन गरिएको छ । महासङ्घको महासचिवमा दिनेश कोइराला र कोषाध्यक्षमा सागर सिंगल छानिएका छन् । त्यस्तै सदस्यहरूमा कृष्ण नेपाल, माधव केसी, सन्तोष सकार, जुगमाया लुम्बा, रमेश कट्वाल, तुलसी घिमिरे, सुजित शाह, मनिता तामाङ, तीर्थ याक्सो लगायत छन् । महासङ्घले वरिष्ठ चलचित्रकर्मी प्रेम सुब्बा, किशोर सम्वाहाम्फे र शत्रुधन अन्सारीलाई सल्लाहकार बनाएको छ ।
बिहीबारको भेलाले महासङ्घको विधान बनाई दर्र्ता प्रक्रियामा जाने निर्णय समेत गरेको छ । दर्ता सकेलगत्तै प्रदेश नम्बर १ का १४ जिल्लामै महासङ्घलाई विस्तार गर्ने निर्णय समेत भएको महासचिव दिनेश कोइरालाले बताए ।