तस्बिर लक्ष्मण थापा
धरानः रेल्वे टोल विकास संस्थाले ‘गीतकार रमेश चक्रद्वारा रचित गीतहरूको एकल साङ्गीतिक साँझ’ गर्ने भएको छ । संस्थाले बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उक्त साङ्गीतिक साँझले गीत सङ्गीतको क्षेत्रमा नयाँ आयाम ल्याउन सहयोग पुग्ने बताइएको छ ।

धरानलाई भौगोलिक रूपमा मात्र नभएर साङ्गीतिक र लेखनका क्षेत्रमा पनि विकास गर्ने त्रिकोणी शहरको रूपमा स्थापित गर्ने आफूहरूको सोच रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रम बैशाख २१ गते धरान–१७ स्थित उदय सामुदायिक बनको हलमा हुने भएको छ । कार्यक्रमको सङ्गीत संयोजन निषाद धरानले गर्ने भएको छ ।

निषाद धरानका उपाध्यक्ष दीपक दर्नालका अनुसार सो साँझमा प्रस्तुत हुने गीतमा देश, भेष र परिवेश भेटिनेछन् । कार्यक्रमको संयोजन धरानको वडा नम्बर १७ ले गर्ने भएको छ । रेल्वे टोल विकास संस्थाका अध्यक्ष रमेश चक्र खड्काले कार्यक्रमलाई अभियानका रूपमा लैजाने सोच भएको बताए ।