धरानःमिस नेवाः कोशीको दोस्रो अडिसन सुनसरीको धरानमा सम्पन्न भएको छ । अघिल्लो शनिबारदेखि प्रदेश १ का मुख्य शहरमा अडिसन शुरु भएको हो ।
गत वर्ष विराटनगरमा केन्द्रित अडिसनलाई यस पटक प्रदेश–१ का प्रमुख शहरमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले बताए । उनले भने, ‘नेवारी समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको हो ।’ नेवारी संस्कृतिलाई नेपालकै धनी संस्कृतिका रूपमा लिने गरिन्छ ।
चलचित्र निर्देशक रविन श्रेष्ठ, नेवा एकता समाजका संस्थापक उपाध्यक्ष महेश श्रेष्ठ, नेपाल जेसीजकी महासचिव आयुष्मा शाक्य र मिस पूर्वाञ्चलकी फस्ट रनरअप सिम्रन श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अडिसनमा १ दर्जनभन्दा बढी युवतीहरू प्रतिष्पर्धामा उत्रिएका थिए ।
एसईईदेखि स्नातकसम्म अध्ययन गरेका युवतीहरू प्रतिष्पर्धामा उत्रिएका छन् । विजेतालाई स्कुटर र ५ लाख रुपैयाँ बराबरको जीवन बीमासहितका आकर्षक पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ । त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए ।
धरानपछि इटहरी र दमकमा छनोट चरणका प्रतिष्पर्धा गरिने आयोजकको भनाइ छ । सबै स्थानबाट छनोट भएर आएकाहरूलाई विराटनगरमा दोस्रो चरणको बन्द प्रशिक्षणमा राखिनेछ । विगतमा विराटनगर र आसपासका क्षेत्रलाई समेटेर प्रतियोगिता आयोजना हुने गरेको थियो ।
‘दोस्रो चरणको अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धीहरूको उत्साहजनक सहभागिता देखिएको छ,’ ताम्राकारले भने, ‘सहभागी र शुभेच्छुकको उपस्थितिले हामी निकै नै उत्साहित भएका छौँ ।’