तस्बिरः लक्ष्मण थापा
धरानः एफटिएल अनलाइन टिभीद्वारा आयोजित वाइवाइ एसईई स्टेट–१ आइडलको अडिसन शनिबार सम्पन्न भएको छ ।
धरान–९, पुतलीलाइनस्थित फ्रेन्ड्स गार्डेनमा भएको पहिलो चरणको अन्तिम अडिसनमा ५२ सहभागीमध्ये दोस्रो चरणका लागि ३६ जना छनोट भएका छन् । ‘गुणस्तरीय शिक्षा हाम्रो चाहना, शिक्षासँगै सर्वाङ्गीण विकास हाम्रो कामना’ भन्ने नाराका साथ प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको निर्णायकमा गायिका प्राश्ना शाक्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ राम धामी र गायक तथा सङ्गीतकार विनायक राई रहेका थिए । १ नम्बर प्रदेशका इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, झापालगायतका जिल्लामा अडिसन भइसकेको बताइएको छ ।
प्रतियोगिताका विजेताका लागि ५० हजार नगद, एउटा गीत रेकर्डिङ, एउटा म्युजिक भिडियो र प्लस टुं अध्ययनका लागि पूर्ण छात्रवृत्ति रहेको आयोजकले जनाएको छ । त्यस्तै, दोस्रो हुनेले ३० हजार रुपैयाँ नगद र अन्य आकर्षक पुरस्कार तथा प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति पाउने बताइएको छ ।
तेस्रो हुनेले २० हजार रुपैयाँ नगद, अन्य आकर्षक पुरस्कार र प्लस टु अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति पाउने भएका छन् । प्रदेश नम्बर एकका सबै जिल्लाको लागि दोस्रो अडिसन आगामी बैशाख २१ गते धरानमा हुने एफटिएल अनलाइन टिभीका प्रबन्ध निर्देशक डम्बरकुमार तुम्बापोले जानकारी दिए ।