बेलबारीः मोरङको बेलबारी– ६ कसेनीकी २७ वर्षीया सिर्जना राई (मुना) को मृत्युपछि सिर्जनाको घर र माइती पक्षबीच मनमुटाव शुरु भएको छ ।
सिर्जनाका ४ वर्षीय छोरा हाङछिङ टुहुरो भएका छन् । मृतकको परिवारले शनिबार आफ्नै घरमा पत्रकार सम्मेलन गरेको हो । उनका श्रीमान् पर्वत श्रीमतीले अत्यधिक मदिरा सेवन गर्ने गरेकाले जन्डिस भएर मृत्यु भएको बताउँछन् । सिर्जनाको हत्या गरेको आरोप लगाएर माइती पक्षले आफ्नो चरित्र हत्या गर्न खाजेको उनले आरोप लगाए ।
पर्वतका मामा डम्बर राईले पनि मुनाको अत्यधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको पत्रकार सम्मेलनमा दाबी गरे । पोष्टमार्टम रिपोर्टमा पनि उनको हत्या नभई सुगर र जण्डिस तथा रगतमा इन्फेक्सन भएका कारण मृत्यु भएको उल्लेख भएको उनले बताए ।
मृतकका माइती पक्षले हत्याको आरोप लगाउँदै उजुरी दिएपछि आफूहरूले उनको काजकिरिया समेत गर्न नपाएको परिवारको गुनासो छ । सिर्जना र पर्वतबीच ६ वर्षअघि प्रेमविवाह भएको थियो ।
बैशाख ५ गते सिर्जनाले पेट दुख्यो भनेर स्थानीय क्लिनिकमा देखाउँदा विराटनगरको गोल्डेन अस्पताल लैजान क्लिनिकले सल्लाह दिएको परिवारले बताएको छ । स्थानीय फार्मेसी सञ्चालक रवि शाहले समेत सिर्जनाको हत्या नभएको दाबी गरेका छन् ।
पर्वतकी दिदी शान्ति राई धरानमा रहेका कारण उनकै सल्लाहमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगी उनको स्वास्थ्य जाँच समेत गराएको र भोलिपल्ट उपचारकै क्रममा उनको मृत्यु भएको परिवारको दाबी रहेको छ । वडाध्यक्ष उदयबहादुर राईले पनि उनको हत्या गरेको आरेप लगाएको परिवारको भनाइ छ । मृतक सिर्जना वडाध्यक्ष राईकी भतिजी हुन् ।
छिमेकी शेषराज घिमिरेले पनि अधिक मादक पदार्थ सेवनले नै उनको ज्यान गएको हुन सक्ने र सो परिवारमा झगडा भएको आफूलाई थाहा नभएको बताए ।
यता ६ नम्बर वडाका अध्यक्ष राईले भने आफूले कसैलाई हत्याको आरोप नलगाएको बताएका छन् । ‘सिर्जना बिरामी भएर अस्पतालमा लगेर आईसीयुमा राखेपछि परिवारले हामीलाई खबर गरे’, उनले भने, ‘हामीले अनुसन्धान गरिपाऊँ भनेर निवेदन मात्रै हालेका हौँ ।’
सिर्जनाको मृत्यु भएपछि माइती पक्षलाई खबर नै नगरी अन्त्येष्टी गर्न खोजेको उनले आरोप लगाए । डाक्टरले शरीरमा घाउ चोटपटक देखेपछि पोष्मार्टम नगरी अन्त्येष्टी गर्न मिल्दैन भनेपछि शङ्का लागेर घटनाको सत्यतथ्य खोजी गरिपाऊँ भनेर प्रहरी समक्ष जाहेरी दिएको उनले बताए ।
आफ्नो वडामा जनतालाई दुःख पर्दा आफूले जोसुकै भए पनि सहयोग गर्ने पनि वडाध्यक्ष राईले बताए । छानबिन गरियोस् भनेर उजुरी दिन मिल्दैन भने प्रहरीले लिनु भएन उनले भने छानबिनपछि दोष नभेटिए आत्तिनुपर्ने कुनै कारण छैन ।
साला–भेनाबीच पनि झगडा
सिर्जना र उनका भाइ सञ्जीव राईको नाममा १० कठ्ठा जग्गा बेलबारीको वडा नम्बर ६ मा सिर्जनाको विवाह हुनुअघि नै किनिएको माइती पक्षले जनाएको छ । केही समयअघि साला–भेनाको कुटाकुट भयो । कुटाकुटपछि छरछिमेकी बसेर १५ लाख मूल्य बराबरको जग्गा भिनाजुलाई सालाले दिएको स्थानीय बताउँछन् ।
शवमाथि नै राजनीति
घटना भएको एक हप्तापछि घटनाले राजनीतिक रूप लिन थालेको छ । सत्तापक्ष र प्रतिपक्षबीच ६ नम्बर वडामा जुहारी चल्न थालेको छ । नेपाली काङ्ग्रेसको पकेट क्षेत्र मानिएको वडा नम्वर ६ मा स्थानीय तहको चुनावमा तत्कालीन नेकपा एमालेका उमेद्वारले प्यानलसहित जितेपछि काङ्ग्रेसलाई झट्का लागेको थियो ।
पूर्व राज्यमन्त्री दिलीप गच्छदारकै वडामा एमालेले जितेपछि काङ्ग्रेसलाई धक्का पुगेको थियो । सिर्जनाका माइती परिवार नेकपाका हुन् भने घरतर्फ काङ्ग्रेस समर्थित हुन् । सिर्जनाका श्रीमान् पर्वतका मामा भनिएका डम्बर नेपाली काङ्ग्रेस मोरङका जिल्ला सदस्य समेत हुन् ।
भिसेरा रिपोर्ट आएको छैनः प्रहरी
मृतक सिर्जना राईको पोष्टमार्टम रिपोर्ट आए पनि भिसेरा रिपोर्ट भने नआएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ‘पोष्मार्टम रिपोर्ट आए पनि अनुसन्धान जारी राखेका छौँ’, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले भने, ‘रिपोर्ट आएपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।’