बेलबारी/ लोहन्द्रा खोलाको पुल बाढीले बगाएको १ वर्ष बित्यो । सो पुलको निरीक्षण गर्ने क्रम भने रोकिएको छैन ।
मुख्यमन्त्री सहित मन्त्रीहरूले अनुगमन भने गरिरहेका छन् । बुधबार पनि ऊर्जा मन्त्री वर्षमान पुनले सो पुलको निरीक्षण गरे । गत वर्षको साउन २८ गते आएको बाढीले बेलबारी – ५ मा पर्ने सो पुल भत्काएको थियो । मन्त्री तथा अन्य विशिष्ट व्यक्तिहरूले पुल भत्किएको १ वर्षपछि चासो देखाउन थालेपछि स्थानीयमा पुल बन्छ भन्ने आशा पलाएको छ ।
पुलको अनुगमन गर्दै मन्त्री पुनले पुल बनाइदिने आश्वासन दिएका छन् । स्थानीयले विद्यालय, वडा कार्यालय आउन जान तथा कुटानी पिसानीका लागि समेत पुल नहँुदा समस्या परेको भन्दै गुनासो गरेपछि मन्त्री पुनले पुल बनाउने आश्वासन दिएका हुन् ।
‘मन्त्रीहरू आउँदा पुल बन्छ भन्ने आशमा छाँै’, स्थानीयवासी छत्रबहादुर बस्नेतले भने, ‘मुख्य मन्त्रीले पनि हेरेर जानु भयो । अहिले कानुन मन्त्री आउनुभएको छ अब पुल बन्छ भन्ने आश लागेको छ ।’ केही दिन अघि मुख्य मन्त्री शेरधन राईले पुलको निरीक्षण गरेका थिए ।

वडा कार्यालय आउन २१ किलोमिटर
सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा मूल नहर माथिबाट बग्ने लोहन्द्राको पुल बाढीले बगाएपछि स्थानीयको वडा कार्यालयसँग सम्बन्ध टुटेको छ । एक÷डेढ किलोमिटर पार गरेर वडा कार्यालय आइपुग्ने भए पनि पुल बगाएपछि वडा कार्यालयमा आउन करिब २१ किलोमिटर बाटो घुमेर पुग्नुपर्ने बाध्यता रहेको छ । सुन्दरहरंैचा नगरपालिका तथा ग्रामथान गाउँपालिका घुमेर मात्रै वडा कार्यालमा पुग्ने गरेको स्थानीय बताउँछन् ।
१ सय ५३ मिटर लामो साइफन माथिबाट बग्ने लोहन्द्राको पुल बगाएपछि केरौन चोकबाट इटहरी–विराटनगर सडक खण्डको खनारसँग जोड्ने सडकमा समेत यातायात बन्द छ । विराटनगर, बाहुनी, होक्लाबारी, लक्ष्मीमार्ग, ग्रामथान जोड्ने सडक पनि अवरुद्ध छन् । सो पुल बगाउँदा झण्डै ३४ करोडको क्षति भएको सुनसरी मोरङ सिँचाइ आयोजनाले जनाएको छ ।
यस्तै, नहरको साइफन (खोलामुनिबाट नहरको पानी लैजाने पैनी) बगेपछि लोहन्द्रा पूर्वको १२ हजार ३ सय ६५ हेक्टर जमिन सिँचाइबाट वञ्चित भएको थियो । मोरङमा धान उत्पादनका लागि अब्बल मानिएको क्षेत्रमा नै सिँचाइको अभाव भएपछि आयोजनाले ४ महिनापछि ५ किलोमिटर उत्तरबाट अस्थायी कुलो बनाएर पानी नहरमा हालेको थियो ।
तर उक्त अस्थायी संरचना बाढीले कुनै समयमा भत्काउन सक्ने स्थानीयको भनाइ रहेको छ । सुनसरीको चतरादेखि मोरङको केरौनसम्म मुख्य नहर ५३ किलोमिटर लामो छ । जसमध्ये ४२ किलोमिटरमा पर्ने कसेनीमा लोहन्द्रा खोला र मुख्य नहरको भेट हुन्छ । यस्तै पुलसँगै रहेको नहर बगाउँदा आयोजनाले सुनसरी र मोरङको ६८ हजार हेक्टर जमिन सिञ्चित हुने गथ्र्यो । आयोजना अन्तर्गत एउटा मुख्य र २२ शाखा नहर रहेका छन् ।

प्रदेश र संघीय सरकार गुहार्दै स्थानीय सरकार
यता, बेलबारी नगरपालिकाले पहिलो तथा दोस्रो नगरसभाबाटै पुल बनाउनका लागि प्रदेश तथा संघीय सरकारसँग अनुरोध गरिसकेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । ‘हामीले २ वटै सरकारलाई पुल बनाउनका लागि आग्रह गरेका छौँ’, मेयर सुवेदीले भने, ‘यसको अलवा आवतजावतका लागि झोलुङ्गे पुलको सर्र्भेको काम समेत सकिइसकेको छ ।’