बेलबारीः स्थानीय प्रतिभाको संरक्षण तथा सम्वद्र्धन गर्ने अभिप्रायले बेलबारीमा पहिलो पटक सुर सप्तक बेलबारी आइडल २०७६ को आयोजना हुने भएको छ ।

प्रतियोगिताको बारेमा जानकारी दिने उद्देश्यले बेलबारीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

स्रष्टा समाजका सचिव एवम् सुर सप्तक बेलबारी आइडल– २०७६ का कार्यक्रम संयोजक जेबी थुलुङले प्रतियोगिताका लागि बैशाख १८ र २१ गते विभिन्न ३ स्थानमा गरिएको छनोट प्रतियोगिताबाट २ दर्जनजति प्रतियोगी छनोट गर्ने र आन्तरिक प्रतियोगिताबाट छनोट भएका १० जना प्रतियोगीलाई एक महिना जतिको प्रशिक्षण पश्चात फाइनल प्रतियोगितामा सहभागी गरिने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै स्रष्टा समाजका अध्यक्ष एवम् पूर्व सांसद हर्कमान तामाङले यसलाई प्रतियोगिताको रूपमा भन्दा पनि प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको रूपमा लिनुपर्ने बताए ।

प्रतियोगिताका विजयीलाई रु १० हजार नगद तथा प्रमाणपत्र र उपविजेतालाई रु ७ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिने छ । साथै रु ५ हजार नगद तथा प्रमाणपत्र सान्त्वना स्थान ल्याउने प्रतियोगीलाई दिइने बताइएको छ ।

स्रष्टा समाज बेलबारी आयोजक रहेको सो प्रतियोगितामा बेलबारी नगरपालिकाको आर्थिक सहयोग रहने बताइएको छ ।