इटहरी: कलालय इटहरीले हरेक वर्ष गर्दै आएको नाटकको शृङ्खला स्कुल थिएटरलाई यस पटक पनि निरन्तरता दिएको छ । विगत ८ वर्षदेखि इटहरीमा सञ्चालन हुँदै आएको स्कुल थिएटरको सातौं संस्करण बुधबारदेखि तायरिप्ची भवनमा शुरु भएको हो ।

विद्यार्थीकै अभिनय र निर्देशनमा प्रस्तुत हुने नाटक २ दिनसम्म चल्नेछ । नयाँ पुस्तालाई नाटकतर्फ आकर्षित गर्ने मुख्य लक्ष्य लिएर सञ्चालन गरिँदै आएको स्कुल थिएटरका लागि विगतमा कलालयले इटहरीमै विद्यार्थीलाई जम्मा पारेर अभिनय तथा निर्देशन कलाको प्रशिक्षण दिने गरेको थियो । यस पटक विद्यालयमै गएर नाट्य कार्यशाला गरिएको कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए । उनले यस क्षेत्रमा नयाँ पुस्ताको प्रवेश सुखद रहेको भन्दै पहिलो संस्करणमा सहभागी भएका कलाकार नै सातौँ संस्करणसम्म आइपुगेको बताए ।

स्कुल थिएटरका माध्यमबाट बालबालिकाहरूमा नाटकप्रति आकर्षण बढेको कलाकार विनय कोइरालाले जानकारी दिए । सातौं संस्करणमा मञ्चन भएको नाटक मुसाहरूको भेलाका निर्देशकसमेत रहेका कोइरालाले नयाँ कलाकारको नाटकप्रतिको चाखले आफूलाई उत्साह जागेको बताए ।

बालबालिकाहरूले अभिनय गरेको नाटक हेर्न आएका अभिभावकसमेत बालबालिकाहरूको अभिनय हेरेर दङ्ग परेका छन् । स्कुल थिएटरको सातौं संस्करणमा आरम्भ विद्या मन्दिर झुम्का, ब्राइट फ्युचर सेकेण्डरी स्कुल इटहरी, एसोएस बालग्राम इटहरी र अन्य विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ । स्कुल थिएटरमा वृद्धहरूको भेला, मुसाहरूको भेला, बुढो मान्छेको सपना र प्रकृति शीर्षकका नाटकहरू मञ्चन गरिएका छन् ।