बेलबारीः मोरङको बेलबारी नगरपालिका–८ शान्ति टोलमा सडकको दायाँ–बायाँ रोपेर हुर्काइएका करिब २ सय अशोकका रूख सरसफाइका नाममा जथाभावी काटिएको आरोप लागेको छ।
‘किप बेलबारी क्लिन’को पहलमा सन् २०२० मा तत्कालीन वडाध्यक्ष धनपति गौतमसँगको सल्लाह र सहकार्यमा सडक किनारमा करिब ९ सय अशोकका बिरुवा रोपिएका थिए। तीमध्ये हुर्किसकेका करिब २ सय रूख गत शनिबार काटिएको ‘किप बेलबारी क्लिन’ले जनाएको छ।
‘किप बेलबारी क्लिन’ बेलबारीका अध्यक्ष प्रभाकर राजवंशीका अनुसार ‘धिमाल काइँला’ नामले चिनिने पदम धिमालको नेतृत्वमा सरसफाइका लागि गएको टोलीले सडक किनारमा रहेका अशोकका रूखहरू काटेको आरोप छ। उनका अनुसार रूख काट्ने कार्य रोक्न खोज्ने र काट्न पुगेका व्यक्तिबीच विवादसमेत भएको थियो।

राजवंशीका अनुसार इलाका वन कार्यालय सलकपुर, बेलबारी र उर्लाबारीबाट प्राप्त अशोकका बिरुवा सडक किनारमा रोपेर शान्ति टोलको वातावरणीय सौन्दर्य बढाउने उद्देश्य राखिएको थियो। स्थानीय वातावरण स्वच्छ र हरियाली बनाउन लामो समयदेखि संरक्षण गर्दै हुर्काइएका रूखहरू काटिनु दुःखद् भएको उनको भनाइ छ।
उनले भने, “वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि ठूलो मेहनत गरेर हुर्काइएका रूखहरू सरसफाइका नाममा काटिनु अन्याय हो। रूख काट्ने कार्यमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानुनी कारबाही हुनुपर्छ।”

राजवंशीले सरसफाइका नाममा रूख काटिएको विषयमा वन प्रशासनमा उजुरी दिने तयारी भइरहेको जानकारी दिए। उनले घटनाको निष्पक्ष छानबिन गरी रूख काट्ने कार्यमा संलग्न व्यक्ति तथा त्यसका लागि जिम्मेवार व्यक्तिहरूको पहिचान गर्न माग गरेका छन्।

त्यस्तै, ‘किप बेलबारी क्लिन’का सचिव अधिराज राईले घटनाको तत्काल छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्। उनका अनुसार संरक्षण गरेर हुर्काइएका रूखहरू काटिनु वातावरण संरक्षणको अभियानमाथि नै गम्भीर असर पार्ने घटना हो।
राईले काटिएका रूखको क्षति मूल्यांकन गरी सम्बन्धित व्यक्तिबाट क्षतिपूर्ति भराउनुपर्ने मागसमेत गरेका छन्।
बेलबारी ८ का वडाध्यक्ष धनपति गौतमले टोलका सबै मिलेर सरसफाई कार्यक्रमको आयोजना गरि सडकका झाडी सफा गरेका हुन् । तर सडकका साईडमा हुर्केका अशोकका रुख काटेको बिषय आफ्नो जानकारीमा नभएको दावी गरे । उनले के भएको हो ? अब फिल्डमै गएर हेर्ने बताए । उनले ६ बर्षअघि बेलबारी नगरपालिका र आफ्नै वडाको सहयोगबाट सो सडकमा विरुवा रोपेको उनले बताए । सो बेला सडक आवतजावतमा असर नपर्ने गरि साईडमै अशोकका विरुवा रोपेको वडाध्यक्ष गौतमले बताए ।





















