धरानः  सुनसरी प्रहरीले धरान उपमहानगरपालिका–१० स्थित फलामे पुलबाट ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ असोज १९ गते साँझ करिब ७ बजे फलामे पुल क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछी, सुनसरीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका ३२ वर्षीय विमलराज घामीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले शंका लागेर उनको खानतलासी तथा चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ २.८१ ग्राम (दुई ग्राम आठ सय दश मिलिग्राम) फेला परेको जनाएको छ।

WhatsApp Image 2026-10-05 at 10.13.04

लागूऔषध फेला परेपछि प्रहरीले युवकलाई उक्त पदार्थसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरीमा ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले लागूऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा निगरानी र चेकजाँचलाई तीव्र बनाएको जनाएको छ। पक्राउ परेका घामीमाथि लागूऔषधसम्बन्धी कानुनी प्रक्रियाअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरेको लागूऔषधको तौल २.८१ ग्राम रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।