धरानः साउन महिनाभरि लागेको बोलबम धार्मिक मेलामा पिण्डेश्वर बाबाधाम समितिलाई १० लाख आम्दानी भएको छ ।
बाबाधाम समितिले बोलबमबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा कुल १० लाख ४३ हजार ८ सय आम्दानी भएको जनाइएको हो ।
यो रकम साउन महिनामा आएका तीर्थालु भक्तजन, बजार व्यवस्थापन र महाआरतीबाट सङ्कलन भएको पनि बाबाधाम समितिले जनाएको छ । समितिका अनुसार साउनमा भक्तजनहरूबाट ७ लाख ४४ हजार ८ सय रुपैयाँ सहयोग भएको थियो भने बजार व्यवस्थापनबाट ६४ हजार र महाआरतीबाट २ लाख ३५ हजार सङ्कलन भएको पनि समितिका सचिव सुधिर सिंह लिम्बूले जानकारी दिए । ‘यो समितिलाई भएको आम्दानी मात्र हो, खर्चको हिसाब अझै आउन बाँकी छ । त्यसपछि मात्र खुद कति रकम बच्यो भन्ने खुल्छ । त्यो औपचारिक बोलबम समापन कार्यक्रममा जानकारी गराउँछौं,’ उनले भने ।

pindeshwar  (3) 1
समितिले सार्वजनिक गरेको आम्दानी भक्तजनहरूले मूल मन्दिरमा चढाएको भेटीबाहेक मात्र हो । मूल मन्दिरमा भक्तजनहरूले भेटी स्वरूपको नगद, सुन, चाँदी, पित्तललगायत चढाउने गर्छन् । ती सबै मन्दिरका पुजारीले लैजाने गरेका छन् । मन्दिरमा चढाएको भेटी मन्दिरकै व्यवस्थापन, पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने आवाज उठिरहे पनि कार्यान्वयन हुन भने सकेको छैन ।
मन्दिर गुठी अन्तर्गतको भएकाले त्यहाँको भेटी, आम्दानी सबै पुजारीले निजी बनाउँदै आएका छन् । बाबाधाम समितिले मन्दिर बाहिर बजार (टहरा) व्यवस्थापन र भक्तजनहरूबाट आएको सहयोगलाई मात्र आम्दानी गर्दै आएको छ । त्यसरी भएको आम्दानीलाई समितिले मन्दिरकै पूर्वाधार तथा विकासमा खर्चने गरेको समितिका अध्यक्ष विकास बनेपालीले बताए ।
समितिका अनुसार यो वर्ष साउनमा मात्र ४ लाख बढी भक्तजनले जल चढाएको अनुमान छ । विगतमा आइतबार र सोमबार मात्र साउन महिनाभरि भक्तजनहरू जल चढाउन आउने गरे पनि यो वर्ष भने साउनको सबै बार भक्तजनहरू आएको समितिको भनाइ छ । १ मिनेटमा ३० जनाले जल चढाउने सङ्ख्याको आधारमा ४ लाख बढी भक्तजनहरू आएको समितिका अध्यक्ष बनेपालीले बताए । उनका अनुसार झापादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका भक्तजनहरू पिण्डेश्वरमा दर्शन गर्न र जल चढाउन आएका थिए । ‘यसपाली भीको कारणले हामीले आइतबार ७, ८ बजे नै मूल ढोका खोल्यौं, अरु वर्षमा मध्यरातमा मात्र ढोका खोल्थ्यौं,’ उनले भने ।
यो वर्ष साउनमा ४ सोमबार परेको थियो । आगामी वर्षहरूमा मान्छे गणना गर्ने मेसिनको व्यवस्था गर्ने योजना बताउँदै समितिले त्यसपछि कति भक्तजन आए भन्ने यकिन हुने जनाएको छ । यो वर्ष हरिशयनी एकादशी, गुरु पूर्णिमा र नाग पञ्चमीसमेत साउनमा परेकाले ती दिनहरूमा पनि भक्तजनहरूको घुइँचो अत्यधिक भएको थियो ।
बोलबम आउने पर्यटकहरू पिण्डेश्वरमा मात्र होइन, आसपासको क्षेत्र, भेडेटारसम्म पनि घुम्न पुग्ने गरेका छन् । यसपटक समितिले सूचना पाटी राखेर अन्य धार्मिक स्थलहरूको प्रवद्र्धनसमेत गरेको थियो । बोलबमको समयमा नै ६ वटा सिसिटिभी जडान गरिएको समितिले जनाएको छ । कोशीको पवित्र जल बोकेर पैदल यात्रा गरी पिण्डेश्वर आउने र जल अर्पण गर्ने चलन ४० को दशकबाट शुरुवात भएको हो ।