इटहरीः प्रदेश १ को आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले भोलि भदौ ६ गते बुधबार बकर इदको अवसरमा बिदा दिएको छ ।
बिदाको बारेमा मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले बताए । सुवेदीका अनुसार आजै मन्त्रिपरिषद्को निर्णय प्रदेशमा रहेका सबै सरकारी तथा निजी कार्यालयहरूलाई जानकारी गराइने छ ।

भदौमै प्रदेश सरकारका ३ सार्वजनिक बिदा
भदौ ६ गते मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इदको बिदा दिएको प्रदेश सरकारले भदौमा यो सहित ३ वटा बिदा दिने भएको छ ।
प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदा सम्बन्धमा गत साउन २१ गते लेखेको पत्रअनुसार भदौ १० र भदौ १८ गते पनि प्रदेश बिदा रहेका छन् ।
भदौ १० मा ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमाको अवसरमा बिदा दिइएको छ । यस्तै, भदौ १८ गते प्रदेश सरकारले राधाकृष्ण रथयात्राको लागि भन्दै मोरङ र सुनसरीमा बिदा दिने निर्णय गरेको छ ।

बिदा कार्यान्वयन हुनेमा पुनः आशंका
प्रदेश १ सरकारले साउन २४ गते विश्व आदिवासी दिवसको अवसरमा पहिलो प्रदेश बिदा दिएको थियो । सो बिदाको कार्यान्वयन उच्च अदालत, जिल्ला अदालतदेखि जिल्ला प्रशासनले गरेका थिएनन् ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले पनि बिदाको कार्यान्वयन गरेनन् । अख्तियार, कृषि, पशु जस्ता सबै क्षेत्रीय सरकारी कार्यालयहरूले पनि प्रदेश सरकारको पहिलो बिदा मानेका थिएनन् ।
बिदा नमान्ने सरकारी कार्यालयले आफूहरूलाई संघीय सरकारले जानकारी नगरेकाले बिदा नदिएको बताएका थिए । निजी तथा सरकारी बंैक तथा वित्तीय संस्थाहरूले भने नेपाल राष्ट्र बैंक र आफ्नो केन्द्रीय कार्यालयबाट बिदाका बारेमा कुनै सूचना नआएकाले बिदा नमानेको बताएका थिए ।
सरकारी तथा निजी विद्यालय र स्थानीय तहले मात्रै अघिल्लो प्रदेश बिदा मानेका थिए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका एक कर्मचारीले आफ्नो कार्यालयले बिदा नदिएको स्पष्ट पारे । यस पटकको प्रादेशिक बिदामा पनि गत साउन २४ गतेकै प्रवृत्ति दोहोरिन सक्ने उनले जनाए । जसले गर्दा भोलिको बिदा कार्यान्वयन हुनेमा आशंका उब्जिएको हो ।