धरानः किसानहरूलाई राहत दिनुपर्ने कृषि उपज बजारस्थलमा सेवा शुल्कको नाममा किसान र खुद्रा व्यापारीसँग दोहोरो कर लिएको भन्दै धरानका खुद्रा व्यापारीहरूले चर्को विरोध जनाएका छन् ।
धरान–३ पालिका बजारस्थित भानु सब्जी तथा फलफुल व्यापार समितिले सोमबार पत्रकार सम्मेलन गर्दै कृषि बजारले किसानहरूलाई नभई ठूला व्यापारी र बिचौलियाहरूलाई मात्र लाभ पुगेको आरोप लगाएको छ ।
ठूला व्यापारीहरूले कृषि बजारको गोदाममा कब्जा जमाएको र उनीहरूसँग सेवा शुल्क नलिने कृषि बजारले सामान्य किसानले आफ्नो उत्पादन बिक्री गर्दा भने सेवा शुल्क लिने गरेको भानु सब्जी तथा फलफुल समितिको भनाइ छ ।
किसानहरूको उत्पादन सहज रूपमा व्यापारीहरूले खरिद गरून् भन्ने उद्देश्यले धरान–१३ अमरहाटमा कृषि उपज बजारस्थल स्थापना गरिएको हो । तर, यो समिति किसानको लागि नभई थोक व्यापारी र बिचौलियाहरूको फाइदाको लागि मात्र भएको भानु समितिका अध्यक्ष हर्कप्रसाद तुम्रोकले बताए ।
‘त्यहाँको गोदाम र स्टलजति सबै ठूला होलसेल व्यापारीले लिएको छ । कृषकहरूलाई छैन । होलसेल व्यापारीले जति नै सामान ल्याए पनि सेवा शुल्क तिर्नुपदैन,’ उनले भने, ‘तर, गाउँबाट एउटा किसान बोरामा तरकारी, फलफुल लिएर आएको छ भने सेवा शुल्क तिर्नुपर्छ । त्यो सामान किन्ने हामी खुद्रा व्यापारीले फेरि थप सेवा शुल्क तिर्नुपर्छ ।’
समितिले ठूला व्यापारीलाई छुट दिएर साना व्यापारी र किसानहरूलाई दोहोरो रूपमा सेवा शुल्क लिएको भन्दै विरोध जनाएको छ । ज्ञापन पत्रसमेत बुझाइसकेको समिति र कृषि बजार सञ्चालक समितिबीच भदौ २ गते वार्ता भए पनि सहमति हुन नसकेको भानु सब्जी व्यवसायी समितिका पूर्वअध्यक्ष धर्मराज तिम्सिनाले जानकारी दिए ।
‘किसानलाई होस् वा व्यापारीलाई होस्, आफ्नो सामान बेच्न ल्याउँदा सेवा शुल्क लिने, र किनेर लैजान पनि अर्काे व्यापारीलाई थप सेवा शुल्क लिने गरेको छ । यो दोहोरो शुल्कले त्यो तरकारीको भाउ बढाउँछ, र आम सर्वसाधारण उपभोक्तालाई नै महङ्गी हुन्छ,’ पूर्वअध्यक्ष तिम्सिनाले भने, ‘त्यसैले यो दोहोरो शुल्क लिनु हँुदैन, कि त बेच्नेसँग मात्र लिनुप¥यो, कि किन्नेसँग मात्र लिनुपर्छ ।’
कृषि बजारको गोदाम तथा स्टल भाडामा लिएर बसेका व्यापारीहरूले सिधै आफ्नो गोदाममा सामान राख्दा सेवा शुल्क तिर्नु पर्दैन । तर, कृषि बजारमा भएको ओपन सेडमा सामान राख्ने, खरीद बिक्री गर्नेहरूले भने सेवा शुल्क तिर्नुपर्छ ।
समितिका अनुसार धरान–३, चिनियाँ चोकस्थित पालिका बजार र धरान–९ स्थित नरेन्द्र पथमा सब्जी तथा फलपूmलको खुद्रा बजार छ । त्यहाँका खुद्रा व्यापारीहरूले कृषि बजारबाट नै तरकारी, फलफूल खरीद गर्ने गर्छन् । पालिका बजारका खुद्रा व्यापारीहरूबाट मात्र कृषि बजारले वार्षिक ५ देखि ७ लाख सेवा शुल्क उठाउने समितिको भनाइ छ ।
कृषि बजारले बोरा वा कार्टुनको साइज अनुसार ठूलो र सानो भए क्रमशः ५ र ४ रुपैयाँ सेवा शुल्क लिने गरेको छ । यो शुल्क कृषि बजारमा आफ्नो सामान बिक्री गर्न आउने र किन्ने दुवैबाट बजारले असुल्छ ।
कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले मन्त्रालयको कृषि बजार सञ्चालन तथा व्यवस्थापन गर्न बनेको निर्देशिकाबमोजिम नै सेवा शुल्क लिइएको दाबी गरे । सेवा शुल्क बारे भानु सब्जी तथा फलफुल समितिले २०६७ सालमा पनि विरोध गर्दा सर्वपक्षीय समिति गठन गरेर सहमति भइसकेको पनि उनले बताए ।
‘ओपन सेडमा राखेर खरीद बिक्री गर्ने दुवैसँग हामीले सेवा शुल्क लिन्छौं । यो त ६७ सालमा पनि उहाँहरूसँग सहमति भएको विषय हो । निर्देशिकाले पनि कृषि बजार सञ्चालन, व्यवस्थापनको लागि सेवा शुल्क लिन पाउने व्यवस्था छ,’ व्यवस्थापक भट्टराईले भने । उनका अनुसार सेवा शुल्कको ३० प्रतिशत भौतिक पूर्वाधारमा र ७० प्रतिशत व्यवस्थापनमा लगानी गर्नुपर्ने निर्देशिकाले भनेअनुसार नै खर्च भइरहेको छ ।