धरानः शुक्रबारदेखि नेपालका करिब ६० वटा सिनेमा हलमा चलचित्र ‘कागजपत्र’ प्रदर्शन भएको छ । नक्कली विवाह गरेर अष्ट्रेलिया जाने युवाको समस्यालाई समेटेर तयार पारिएको कथावस्तुमा बनेको चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको बताइएको छ । अपिल विष्टको निर्देशनमा कागजपत्र बनेको छ । शुक्रबार अपराह्न सम्ममा चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रया पाएको छ ।

काठमाडौंको क्यूज सिनेमा हलमा ‘कागजपत्र’ को प्रियिमर शो गरेर शुक्रबारबाट चलचित्र नेपालभर रिलिज भएको हो । प्रिमियर शो हेरेपछि यो चलचित्रलाई मिश्रित प्रतिक्रिया मिलेको छ । कतिपयले समसामयिक विषयमाथि व्यङ्ग्यात्मक ढङ्गबाट फिल्म प्रस्तुत गरिएको प्रतिक्रिया दिएका छन् ।

नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरीको मुख्य भूमिका फिल्ममा रहेको छ । शो हेरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै कलाकार भोलाले भने, ‘कीर्ते कागज गरी विदेश जान खोज्नेले यो फिल्म हेरेपछि यसका गाह्रा अप्ठ्याराको बारेमा थाहा पाउनेछन् । भोलिको दिनमा यसरी जानेको सङ्ख्यामा कमी आउँछ कि भन्ने लागेको छ ।’ फिल्ममा दोहोरो अर्थ लाग्ने संवाद प्रयोगको विषयमा उनले सिचुएसनल कमेडी भएकाले बोलीचालीको भाषा प्रयोग गरिएको बताए ।

यता, कलाकार शिल्पा मास्केले पहिलो फिल्म भएकाले कमीकमजोरी धेरै भएको स्वीकारिन् । उनले आगामी दिनमा यस्ता कमी कमजोरीलाई अझ सुधार्दै लैजाने बताइन् । कलाकार नाजिरले डिफरेन्ट क्यारेक्टरमा आफूलाई प्रस्तुत गर्न पाउँदा खुशी लागेको बताए । कलाकारितामा लाग्दा फ्रस्टेसन आए पनि कहिले विदेश जाऊँ भन्ने आफूलाई नभएको उनको भनाइ थियो ।

निर्देशक अपिलले चलचित्र दर्शकलाई मन पर्ने दाबी गरेका छन् । प्रिमियर शोमा निर्देशक रामबाबु गुरुङ, कलाकार दयाहाङ राई, गौरव पहारीलगायतका व्यक्तिसमेत उपस्थित थिए ।