इलाम / मेची अञ्चलका किसानको प्रमुख आयस्रोतको रूपमा रहेको चिया उद्योगको क्षेत्रमा काम गर्ने मजदुर आन्दोलित भएका छन् ।
श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा तोकिएको तलब सुविधा कार्यान्वयन गर्नुपर्ने माग गर्दै चिया मजदुर आन्दोलित भएका हुन् । चिया उद्योगी र बगान सञ्चालकले श्रम ऐनमा तोकिएको तलब र सामाजिक सुरक्षा ऐनमा भएको सुविधा मजदुरलाई नदिएको भन्दै चिया खेती उद्गमस्थल इलामबाट मजदुरले आन्दोलन शुरु गरेका हुन् । चिया क्षेत्रमा संस्थागत रूपमा सक्रिय रहेका अखिल नेपाल चिया मजदुर संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र नेपाल चिया बगान श्रमिक संघ आबद्ध मजदुरले संयुक्त रूपमा आन्दोलन शुरु गरेको अखिल नेपाल चिया मजदुर संघका केन्द्रीय उपाध्यक्ष उमेश रेग्मीले बताए ।
आन्दोलनको पहिलो चरणमा बिहीबार इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा चिया मजदुरहरूले र्याली र कोणसभा सम्पन्न गरेका हुन् । कोणसभामा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्बर १ का संयोजक भुपाल सापकोटाले सरकारले ल्याएको कानुन कार्यान्वयनमा उद्योगी र बगान सञ्चालक नलागे दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने बताए ।
इलाम जिल्लामा रहेको चिया बगान र उद्योगमा काम गर्ने एक हजार बढी मजदुर सहभागी रहेको कोणसभाका सहभागीहरूले सरकारले श्रम ऐन २०७४ मा अन्य उद्योगको भन्दा चिया क्षेत्रमा काम गर्ने मजदुरको तलब कम तोकेको भन्दै आफूहरूको ज्याला समायोजनको माग समेत गरेका छन् । सरकारले चिया बगान तथा उद्योगमा काम गर्ने मजदुरका लागि १० हजार ७ सय ८१ रुपैयाँ तलब भत्ता साउन १ गतेदेखि लागु हुने गरी तोके पनि कार्यान्वयनमा नआएपछि मजदुर आन्दोलित भएका हुन् ।
१४ जिल्लामा चियाको व्यावसायिक खेती
नेपालका १४ जिल्लामा व्यावसायिक खेती हुने चियामा ९ हजार २ सय ३६ किसान तथा चिया उत्पादक व्यवसायीहरू आबद्ध रहेका छन् । तीमध्ये ९ हजार १ सयले व्यक्तिगत रूपमा र अन्यले संस्थागत रूपमा चिया उत्पादन गर्दै आएका छन् । १२ हजार ६६ हेक्टर जमिनमा चिया खेती हुँदै आएको नेपालमा झापामा ७ हजार १ सय ९५ हेक्टरमा चिया खेती हुन्छ ।
नेपालमा कुल ११ हजार ४१ वटा बगानहरू रहेका छन् । चिया क्षेत्रमा ५० हजार बढी मजदुरहरू काम गर्दै आएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्क छ । चिया खेती गर्ने किसानमध्ये ५९ प्रतिशतले पराम्परागत तरिकाले खेती गर्छन् ।
३० प्रतिशत किसान तथा व्यवसायीहरू प्राङ्गारिक उन्मुख छन् भने ११ प्रतिशतले पूर्ण प्राङ्गारिक चिया उत्पादन गर्दै आएका छन् ।
१८ हजार १ सय ८० जना किसान व्यावसायिक रूपमा चियाखेतीमा लागेको तथ्याङ्क छ । जसमध्ये ९ हजार ३ सय ७४ जना पुरुष र ८ हजार ८ सय ७ जना महिला किसानले वार्षिक १ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
वार्षिक सवा २ करोड केजी उत्पादन
नेपालमा वार्षिक दुई करोड २२ लाख केजी चिया उत्पादन हुने गरेको तथ्याङ्क छ । चिया खेतीको बारेमा पहिलो पटक केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय योजना आयोग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा गरेको सर्वेक्षणले नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात हुने गरेको देखाएको छ ।
नेपालमा सिटिसी, अर्थोडक्स र ग्रीन टी गरी ३ प्रकारका चिया उत्पादन हुने गरेका छन् । सिटिसीको उत्पादनका लागि आवश्यक हरियो पत्ती झापा जिल्लामा मात्रै उत्पादन हुन्छ भने अर्थोडक्स चिया पहाडी जिल्लामा उत्पादन हुँदै आएको छ । कुल उत्पादनको ४५ प्रतिशत सिटिसी चिया नेपालमा खपत हुने गरेको छ भने ५५ प्रतिशत भारतीय बजारमा निर्यात हुने गरेको छ । नेपालमा उत्पादन हुने अर्थोडक्स र ग्रीन टी भने युरोप र अमेरिकी मुलुकमा निर्यात हुने गरेको छ ।