विराटनगरः यही फागुन १५ गतेदेखि २४ गतेसम्म विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।

आरोहण विराटनगरका अनुसार विराटनगरको सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा नेपालसहित ६ देशका १० वटा नाटक मञ्चन हुनेछन् ।

महोत्सवमा नेपाल, बङ्गलादेश, भारत, श्रीलङ्का र अफगानिस्तानका १० नाटक दैनिक एक÷एक वटा मञ्चन हुने आरोहरण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । फागुन १५ गते आरोहण विराटनगरको ‘विराट पर्व’, १६ गते बङ्गलादेशको ‘मातब्रिङ’, १७ गते इटालीको ‘डिसएप्पीइर्ड’, १८ गते भारतको ‘चम्पावती’, १९ गते श्रीलङ्काको ‘लब एण्ड लाइफ’ नाटक मञ्चन हुने भएको छ ।

यसैगरी फागुन २० गते झोराहाट नाट्य समूह नेपालको ‘घरभित्रको अर्को घर’ २१ गते परिवर्तन थिएटर, काँकडभिट्टा नेपालको ‘बिटुलो आख्यान’, २२ गते अफगानिस्तानको ‘ता राहाये’, २३ गते थिएटर उपयपुर नेपालको ‘देश बनाउँछु भन्नेहरू’ र २४ गते कदम थिएटर दमक नेपालको ‘गैडा टाइम्स’ नाटक मञ्चन गरिने भएको छ ।

महोत्सवमा विभिन्न सांस्कृतिक, पुस्तक र चित्र प्रदर्शन गरिने बताइएको छ । सहभागी विदेशी कलाकारलाई प्रदेश नं १ का पर्यटकीय तथा ऐतिहासिक गन्तव्यहरूको अवलोकनका साथै स्थानीय समुदाय तथा स्थानीय सरकारसँगसमेत अन्तरक्रिया कार्यक्रम गराइने बताइएको छ ।