इटहरी/ विगत १० वर्षअघिदेखि दोहोरी गायनमा लागेकी र ४ वर्ष अघिदेखि गीति एल्बम निकाल्न थालेकी गंगा गौतम तीजका ३ वटा गीत लिएर स्रोता र दर्शकमाझ आउने भएकी छिन् ।
इटहरीमा रहेर लोकसङ्गीत र खास गरी पछिल्लो समय तीज, दशैं र तिहारका अवसरमा गीत सार्वजनिक गर्ने गौतमका अनुसार तीन वटै गीतको छायाङ्कन भइसकेको छ ।
‘माइतीको देश...’ बोलको राजकुमार बगरले रचना गरेको गीत उनले इटहरीको बुढी गंगा मुक्तिघाटमा छायाङ्कन गरेकी छिन् । इटहरी ताथ आसपासका महिला उनको सो गीतको भिडियोमा नाचेका छन् । रोचक थापाले निर्देशन गरेको गीतको छायाङ्कन तथा सम्पादन भने शिरकुमार साम्पाङले गरेका छन् ।
पश्चिमी भाकाको गीत र गायक
सञ्चारकर्मी समेत रहेकी गौतमले यसपटक पश्चिमी भाकाको गीत गाउने गायकसँग मिलेर ‘काँकरीको झाल, नौजाले माया...’ बोलको गीत पनि तीजको कोसेलीको रूपमा ल्याएकी छिन् । उनको यो गीत भने काठमाडौंमा छायाङ्कन भएको छ । पश्चिमका गायक विनोद ढकालको शब्द र सङ्गीत रहेको गीतमा ढकाल र गौतमको स्वर रहेको छ । सो गीत काठमाडौंको गोकर्णमा छायाङ्कन भएको उनले बताइन् ।
बरी लै पनि
तीजको भाव बोकेको उनको अर्काे गीत ‘बरी लै...’ पनि काठमाडौंमै रेकर्ड भएको छ । यसको छायाङ्कन भने इटहरीको भेटघाटचोकस्थित मनकामना मन्दिरमा र इटहरीको होटल चिन्तन चौतारीमा भएको छ । यीमध्ये माइतीको देश बोलको गीत युट्युबमा पनि राखिसकिएको गौतमले बताइन् ।
गीतमा मोडल पनि
गौतमले यसअघिका गीतमा चर्चित मोडललाई अभिनय नगराई प्रायः स्थानीय महिलालाई नै नाच र अभिनयमा सहभागी गराएकी थिइन् । यसपटक भने उनले हास्य टेलिसिरियलमा अभिनय गर्ने रक्षालाई पनि आफ्नो गीतमा अभिनय गराएकी छिन् । एयर बंगलाको विमान दुर्घटनाको कारुणिक दृश्य पनि त्यसमा समेटिएको उनले बताइन् ।
गीत गाउन पहिलो पटक देशबाहिर
आफ्नो साङ्गीतिक प्रस्तुति दिन देशबाहिर भारतका केही ठाउँमा गए पनि भिसा लाग्ने देशमा नगएकी गौतमलाई यस पटक भने त्यो अवसर पनि मिलेको छ ।
तीजको एक हप्ता अघि उनी युएइ जाँदैछिन् । भदौ १५ गते उनी युएइको लागि उड्दैछिन् । त्यहाँको एभरेष्ट क्लबमा उनीसँगै गायिका सिन्धु मल्ल र रोइला गायक शिरिष देवकोटाले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । युएइमा १ दिनको कार्यक्रम भए पनि १ साता बस्ने योजना रहेको उनले सुनाइन् । तीजको समयमा भने उनी नेपाल फर्किसक्ने छिन् ।
गीतको विमोचन भदौ पहिलो साता
गौतमले सधैंझैं साङ्गीतिक कार्यक्रम गरी गीत विमोचन गर्ने बताइन् । ‘भदौको पहिलो साता विमोचन गर्ने तयारी रहेको छ’, केही दिनअघिको भेटमा उनले भनिन्, ‘विमोचन समारोहमा गायिका हरिदेवी कोइरालालाई बोलाउने तयारी भइरहेको छ ।’