झापाः चालु आर्थिक वर्षको ६ महिनामा झापामा भएका सम्बन्ध विच्छेदका मुद्दामध्ये झण्डै आधा मुद्दा पुरुषले दर्ता गराएका छन् ।

यस अघि महिलाले मात्रै दर्ता गर्न पाउने सो मुद्दा मुलुकी आचारसंहिता लागू भएपछि पुरुषले पनि दर्ता गर्न पाउने भएका हुन् ।

नयाँ कानुनले पुरुष पक्षलाई पनि सोझै अदालतमा आएर सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेको छ ।

मुलुकी संशोधित आचारसंहिता ऐन २०७४ लागु भएपछि भदौ १ गतेदेखि हालसम्म जिल्ला अदालत झापामा ३ सय ४५ मुद्दा दर्ता भएका थिए । जसमध्ये १ सय ६० वटा पुरुष पक्षबाट दर्ता भएका छन् ।

जिल्ला अदालत झापाका श्रेस्तेदार दुर्गाप्रसाद खनालका अनुसार वैदेशिक रोजगारी तथा घरेलु हिंसाकै कारण सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढेको देखिन्छ ।