खोटाङः खोटाङको केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने ३ मेगावाट क्षमताको साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

सुङ्देलको दाम्कुबेँसीमा पानी खसालेर उत्पादन गरिने विद्युत् आयोजनाको पावरहाउस, हेडड्रेस, पाइपलाइनलगायत ठूला काम अन्तिम चरणमा पुगेको रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले बताए । आगामी असार मसान्तभित्र विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उनले बताए ।

लगभग २ हजार १ सय मिटर माथिबाट पानी झारेर विद्युत् उत्पादन गरिने उक्त विद्युत् आयोजनामा अहिले १ हजार मिटरभन्दा बढी पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको छ । दाम्कुबेँसीमा रहेको विद्युतगृहको काम भने अन्तिम चरणमा पुगेको सञ्चालक तिम्सिना बताउँछन् ।

आयोजनाको विद्युतगृह, हेड, पाइपलाइन, एङ्कर ब्लकलगायत सिभिल कन्स्ट्रक्सनको काम ट्रिपल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, जेनेरेटर, टर्बाइन, ट्रान्सफरमर, प्यानल उपकरण जडानलगायत इलेक्ट्रोनिक मेकानिकलको काम सिमर इनर्जी र इञ्जिनीयरिङको काम युनिट्स इञ्जिनियरिङ कन्सल्टेन्सीले जिम्मा लिएका छन् । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको बाक्सिलास्थित सबस्टेशनमा जडान गरिने विद्युत्को अहिले हेडमा सेटलिङको काम तीव्र गतिमा भइरहेको उनले बताए ।

खोटाङमा अहिलेसम्म १२ हजार ३ सय २४ घर विद्युत् उपभोक्ता रहेका छन् ।