झापाः झापाको अर्जुनधारा नगरपालिकाले स्थानीय बजार अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरेको छ ।
बजार अनुगमन निर्देशिका २०७५ लाई पूर्ण रूपमा कार्यान्वयन गरी अघि बढ्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । नगरपालिकाले उपप्रमुख कमला आचार्यको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समिति र त्यस मातहतमा बनेको बजार अनुगमन टोलीसँग भएको छलफलमा सहभागीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
नगरपालिकाले अर्जुनधारा राजपत्र मार्फत् गत असार २८ गते बजार अनुगमन निर्देशिका पारित गरी लागू गरेको छ । त्यसलगत्तै समय–समयमा आवश्यक छलफल र अनुगमन भए पनि अब समितिले नियमित अनुगमन गरी निर्देशिकालाई पूर्ण कार्यान्वयन गर्ने उपप्रमुख आचार्यले बताइन् । निर्देशिकामा हरेक महिना बजार अनुगमन गर्ने समितिको बैठक र रिपोर्टिङको व्यवस्था छ । त्यस्तै उपभोक्ता हित विपरीत कार्य गर्नेलाई कडा कानुनी कारवाहीको व्यवस्था गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले सरोकारवाला सबै निकाय र विज्ञ टोलीसँग समन्वय गरी बजार अनुगमन गर्ने बताए । नगरपालिकाले निर्देशिका बमोजिम उपभोक्ता हितविपरीत कार्यमा आवश्यक कानुनी कारवाहीका लागि निरीक्षक तथा अनुसन्धान अधिकृतको रूपमा हिमराज सेढाईंलाई जिम्मेवारी दिएको छ ।