सङ्खुवासभा: मनराम प्रतिष्ठान र संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज)ले संयुक्तरुपमा स्थापना गरेको ‘मनराम–एसकास पत्रकारिता पुरस्कार’ पत्रकार दिपेन्द्र शाक्यलाई प्रदान गरिएको छ । सङ्खुवासभा जिल्लामा रहि निरन्तर पत्रकारिता जगतबाट योगदान पुर्याएबापत शाक्यलाई उक्त सम्मान गरिएको हो ।
एसकाजले काठमाडौँमा मंगलबार कार्यक्रम आयोजना गरी शाक्यलाई २५ हजार नगदसहित ताम्रपत्रबाट सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले शाक्यलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

पत्रकार शाक्य जिल्लामा सहयोगी, लगनशिलको रुपमा समेत चिनिन्छन् । उनी जिल्लामा समेत साना ठुला धेरै पुरस्कारले सम्मानित भईसकेका छन् । कान्तिपुर मिडिया ग्रुपमा आवद्ध शाक्यलाई निरन्तर रुपमा पत्रकारीता क्षेत्रमा रहि जिल्लाको विकास मिर्माण, सामाजिक, पर्यटन लगायतका क्षेत्रमा महत्वपुर्ण योगदानको कदर गदै उक्त पुरस्कारले सम्मान गरिएको एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए ।

सङ्खुवासभा जिल्लाबाट २०६१ सालदेखि निरन्तर रुपमा जिल्ला र राष्ट्रिय स्तरका सञ्चार माध्यममा शाक्यले काम गदै आएका छन् । मनराम–एसकाज पत्रकारिता पुरस्कारबाट सम्मानित शाक्यले पत्रकारीता क्षेत्रमा सहयोग र पत्रकारको उत्साह जगाउन वार्षिक रुपमा प्रदान गरिने पुरस्कारले जिल्लाका सञ्चारकर्मीमा थप उत्साह र हौसला जगाएको बताए ।

२०७३ देखि सुरु गरिएको पत्रकारिता पुरस्कार पहिलो वर्ष संखुवासभाका गंगा विष्टलाई प्रदान गरिएको थियो । दोस्रो वर्ष नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरिलाई २०६४ मा पुरस्कार प्रदान गरिएको थियो ।

संखुवासभामा जन्मिएर काठमाडौंमा कर्मथलो बनाएका संचारकर्मीहरुको साझा संस्था एसकाजले संखुवासभा र काठमाडौँ जोड्ने विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।