भारतबाट नेपाल प्रवेश गर्दै गरेका दुई जना पक्राउ, गाडी र मोटरसाइकलसमेत नियन्त्रणमा
झापाः झापामा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो झापा गाउँपालिका–१, सालमारामा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा झापा गाउँपालिका–१, सालमाराका ३६ वर्षीय नसिम अत्तर मियाँ र ३० वर्षीय सलमान मियाँ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कुमरखोड र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले बुधबार दिउँसो करिब साढे १२ बजे सालमारा क्षेत्रमा निगरानी तथा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भाग्न खोजेपछि हवाई फायर
प्रहरी निरीक्षक अधिकारीका अनुसार बीआर ३७ एए ५३८० नम्बरको गाडी र मे ७ प ३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेको थियो ।
हवाई फायरपछि नियन्त्रणमा लिएर खानतलासी गर्दा सेतो प्लास्टिकमा पोका पारेर लुकाइछिपाइ राखिएको अवस्थामा खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूको साथबाट कुल १५० ग्राम १४० मिलिग्राम अर्थात् १५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद भएको हो ।
गाडी र मोटरसाइकलसमेत नियन्त्रणमा
लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई प्रहरीले बरामद पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको भनिएको गाडी तथा मोटरसाइकलको सम्बन्धमा समेत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भारतसँग सीमा जोडिएको झापा गाउँपालिका क्षेत्रमा विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा ठूलो परिमाणमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषधको स्रोत, ओसारपसारमा उनीहरूको सम्भावित संलग्नता तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले अनुसन्धान पूरा गरी प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।




















