इटहरीः आफ्नै महिला सहकर्मी इन्जिनियर एलिना अधिकारीलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेका इटहरी उपमहानगरपालिकाको योजना शाखामा कार्यरत इन्जिनियर भवेन्द्र चौधरीमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान आवश्यक रहेको भन्दै सरकारी वकिलको कार्यालयमार्फत पेस गरेको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार सात दिनको म्याद थप गरेको हो ।

चौधरीलाई सोमबार इटहरीको नेसनल मार्केटस्थित पेरिस गल्लीमा रहेको आफन्तको घरबाट प्रहरीले पक्राउ गरेको थियो । महिला इन्जिनियर अधिकारीका श्रीमान् सुवास कठेतले उपलब्ध गराएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

अधिकारीले गत भदौ २७ गते चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा अभद्र व्यवहारसम्बन्धी निवेदन दर्ता गराएकी थिइन् । सोही उजुरी तथा पीडित पक्षले उपलब्ध गराएका प्रमाणका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो ।

WhatsApp Image 2026-10-27 at 13.55.18

पक्राउ पुर्जी जारी भएपछि फरार

प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गरी कानुनी प्रक्रिया अघि बढाउन आवश्यक कागजात सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो । त्यसपछि गत असोज ५ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि चौधरी फरार भएको पीडित पक्षको दाबी छ । उनी सुरुमा काठमाडौं पुगेको र केही दिन त्यहाँ बसेपछि इटहरी फर्किएको बताइएको छ ।

इटहरी फर्किएपछि उनी नेसनल मार्केटको पेरिस गल्लीस्थित आफन्तको घरमा लुकेर बसेको सूचना पीडित पक्षले पाएको थियो । उक्त घरमा रहेका बेला उनका बुबा तथा अन्य आफन्त पनि भेट्न आउने गरेको बताइएको छ ।

दसैँका बेला चौधरी आफन्तको घरबाट निस्केर इटहरीस्थित आफ्नै घरमा गई टीका थापेर पुनः फर्किएको विवरणसमेत पीडित पक्षले दिएको छ ।

चौधरीको गतिविधिबारे पीडित इन्जिनियर अधिकारीका आफन्तले निगरानी गरिरहेका थिए । उनी आफन्तको घरको माथिल्लो तलास्थित एउटा कोठामा बसिरहेको सूचना निश्चित भएपछि एलिनाका श्रीमान् सुवासले प्रहरीलाई खबर गरेका थिए । सोही सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पुर्जी जारी भएको ३४औँ दिनमा चौधरी पक्राउ परेका हुन् ।

पक्राउपछि मुद्दा मिलाउन आग्रह गरिएको पीडित पक्षको दाबी

चौधरी पक्राउ परेपछि उनलाई भेट्न उनका अभिभावक तथा आफन्तहरू इलाका प्रहरी कार्यालय इटहरी पुगेको पीडित पक्षको भनाइ छ । उनीहरूसँगै मुद्दालाई सामान्यीकरण गरेर अघि बढाउन आग्रह गर्ने एक व्यापारी पनि प्रहरी कार्यालय पुगेको बताइएको छ ।

पीडित पक्षका अनुसार ती व्यापारीले चौधरीलाई पक्राउ पर्न नदिन तथा कानुनी प्रक्रियाअन्तर्गत धरौटीमा छुटाउने व्यवस्था मिलाउने आश्वासन दिएका थिए । पक्राउ पुर्जी जारी भएको लामो समयसम्म चौधरी पक्राउ नपरेपछि उनलाई कानुनी प्रक्रियामार्फत धरौटीमा छुटाउने योजना बनाइएको पीडित पक्षको आरोप छ ।

यद्यपि, प्रहरी, सरकारी वकिलको कार्यालय वा जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँग मिलेमतो भएको भन्ने विषयमा स्वतन्त्र पुष्टि हुन बाँकी छ । यसबारे सम्बन्धित निकायको आधिकारिक धारणा तथा प्रमाण सार्वजनिक भइसकेको छैन ।

प्रहरी कार्यालय पुगेका व्यक्तिहरूले एलिनाका श्रीमान् सुवास कठेतलाई भेटेर मुद्दालाई सामान्य रूपमा अघि बढाउन आग्रह गरेको बताइएको छ । जवाफमा कठेतले लामो समयसम्म सम्पर्कमा नआएको र अहिले समस्या परेपछि मात्र यस्तो आग्रह गरिएको भन्दै कानुनअनुसार प्रक्रिया अघि बढ्नुपर्ने धारणा राखेको पीडित पक्षले जनाएको छ । कठेतले आफूहरू कानुनी प्रक्रियाबाट पछि नहट्ने स्पष्ट पारेपछि उनीहरू निरुत्तर भएको बताइएको छ ।

अभद्र व्यवहारसम्बन्धी उजुरीमा अनुसन्धान जारी

चौधरीविरुद्ध हाल अभद्र व्यवहारसम्बन्धी उजुरीका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको छ । थप अनुसन्धानका लागि सात दिनको म्याद थप भएसँगै प्रहरीले घटनासम्बन्धी विवरण, पीडितको बयान तथा उपलब्ध प्रमाणका आधारमा अनुसन्धान अघि बढाउनेछ ।

कार्यकक्षमै महिला सहकर्मीमाथि कुटपिट भएको आरोपले कार्यस्थलको सुरक्षा, कर्मचारीबीचको व्यवहार र कार्यालयभित्र हुने विवादको कानुनी सम्बोधनबारे पनि प्रश्न उठाएको छ ।