उर्लाबारीः मोरङको उर्लाबारी र मिक्लाजुङमा मंगलबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

उर्लाबारी–६ स्थित मूख्य चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ तोरीबारी जंगलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुदा अर्का एक जनाको मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार सोमबार साझ करिब ५ः५० बजे पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी चोकमा पथरीबाट दमकतर्फ जादै गरेको बागमती प्रदेश ०१–००४ क २२२८ नम्बरको ट्रकले प्रदेश १–०१–०१६ प ८००२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।  दुर्घटनामा परि स्कुटर चालक उर्लाबारी ८ निवासी करिव ५० वर्षीय लोकेन्द्र थापा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनलाई साझ ६ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न ट्रक चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ निवासी ३४ वर्षीय खड्गप्रसाद लावतीलाई प्रहरीले ट्रक र स्कुटरसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्चार्ज प्रहरी निरिक्षक नविन ओलीले जानकारी दिईन् ।

यसैगरी, सोमबार राति करिब ११ः२० बजे मिक्लाजुङ गाउँपालिका–८ स्थित तोरीबारी जंगलमा मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेको को १५ प ५४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुदा करिव ३१ वर्षिय स्थानिय दिपेन लिम्बूको मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ।

दुर्घटनामा परि लिम्बूको टाउकोमा चोट लागेको थियो। उनलाई उपचारका लागि अरनिको अस्पताल लगिएतापनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले सो मोटरसाइकल लाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ।