झापाः सङ्घीय सांसद् राजेन्द्र लिङ्देनले हरेक सामुदायिक वनले एउटा सिमसार अनिवार्य रूपमा बनाउनुपर्ने बताएका छन् ।
कचनकबल–७ स्थित दीपज्योति सामुदायिक वनको ११ औँ वार्षिक साधारणसभाको उद्घाटन गदैं सांसद् लिङ्देनले जङ्गलबाट निस्किएर सर्वसाधारणलाई दुःख दिने हात्ती हेर्नकै लागि पर्यटक आउने वातावरण चाँडै बनाइने बताए । ‘हात्ती हेर्न पर्यटक आउनेछन्, यहाँको आम्दानी पनि बढ्नेछ,’ उनले भने ।
जलथल जङ्गल वन्यजन्तु र जैविक विविधताका हिसाबले महत्वपूर्ण रहेकाले यसको संरक्षणमा जुट्नुपर्ने उनको भनाइ थियो । हात्तीको उपद्रो रोक्नका लागि सौर्य विद्युतीय तारबारको काम चाँडै अघि बढाइने लिङ्देनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि लिङ्देनले कचनकवलका सबै माध्यमिक विद्यालयमा अङ्ग्रेजी तथा कम्प्युटर शिक्षा अनिवार्य गरिनेसमेत उद्घोष गरे । विद्यालयहरूमा कम्प्युटर शिक्षक र कम्प्युटरको व्यवस्था चाँडै गरिने उनको भनाइ थियो ।
वन उपभोक्ता समितिका अध्यक्ष हरि लिम्बूको अध्यक्षतामा भएको साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार यस वर्ष वनले १६ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । लक्ष्यको ७० प्रतिशत मात्र आम्दानी भएको अध्यक्ष लिम्बूको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा १७ जना ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो । प्रमुख अतिथि सांसद् लिङ्देनले ज्येष्ठ नागरिकहरूलाई दोसल्ला र नगदसहित सम्मान गरेका थिए ।