ओखलढुङ्गाः नेवि सङ्घको जिल्ला अधिवेशनको विषयलाई लिएर ओखलढुङ्गामा काङ्ग्रेसका नेताबीच सोमबार कुटाकुट भएको छ ।

सोमबार बिहान ११ बजे नेवि सङ्घको १२ औँ जिल्ला अधिवेशन उद्घाटनको कार्यक्रम थियो । अधिवेशनमा सहभागी हुन पार्टीका जिल्लास्थित अधिकांश नेता, कार्यकर्ता र नेवि सङ्घका विद्यार्थी नेता कार्यक्रम स्थलमा पुगेका थिए । तर अधिवेशन शुरु हुनुअघि कार्यक्रममा आसन र भाषण गर्न कसलाई दिने वा नदिने भन्ने विषयमा विवाद भएको थियो ।

यस्तो थियो विवाद
पार्टी सभापति शेरबहादुर देउवा पक्षले चुनावका बेला पार्टीलाई अन्तरघात गरेको आरोप लागेका नेतालाई आसनग्रहण नगराउने बताएको थियो । रामचन्द्र पौडेल पक्षधरले भने सबैलाई समेटेर जान भनिरहेको थियो ।

विवादकै बीच नेवि सङ्घका जिल्ला अध्यक्ष प्रदीप बानियाँले औपचारिक कार्यक्रम शुरु गर्न निर्देशन दिएलगत्तै कार्यक्रम रोक्न माग गर्दै बाहिर रहेका नेता कार्यकर्ताले चर्को नारा लगाएका थिए ।

केन्द्रीय प्रतिनिधिलाई समेत बाहिर राखेर गरिएको अधिवेशन मान्य नहुने पौडेल पक्षधरको माग थियो । जिल्ला सभापति प्रदीप सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीले कारवाहीका लागि सिफारिश गरिएको भनिएका नेताहरुलाई प्रवेश गर्न दिएका थिएनन् ।

नाराबाजी गर्दै कार्यक्रम स्थल पुगेका पौडेल पक्षधर नेताले जबर्जस्ती कार्यक्रम रोक्न माग गरेपछि कुटाकुट भएको थियो । कुटपिटमा ओखलढुङ्गा काङ्ग्रेसका पुराना नेता बालकृष्ण दाहालसहित पौडेल पक्षका दर्जनौँ नेता कार्यकर्ता कुटिएका छन् ।

कार्यक्रम रोकेर सहमतिमा अघि बढ्न माग गर्दै कार्यक्रमस्थल पुगेका नेता दाहाललाई कार्यक्रमका सभापतिसमेत रहेका नेवि सङ्घ अध्यक्ष प्रदीप बानियाँ र पार्टीका जिल्ला उपसभापति तेजेन्द्र खनालले मुक्का प्रहार गरेको बताइएको छ ।

केन्द्रीय प्रतिनिधि नेवि सङ्घका केन्द्रीय सदस्य पवन नेपालीले पार्टीको हस्तक्षेपका कारण अर्को निर्णय नहुँदासम्मका लागि अधिवेशन स्थगन भएको विज्ञप्ति जारी गरेका छन् । पार्टीभित्रको समस्या देखाएर नेवि सङ्घमा हस्तक्षेप गरेकाले अधिवेशन स्थगन गरिएको नेपालीले बताए ।