इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित भेडघाट चोकमा गत वर्षदेखि सुरु भएको सार्वजनिक दुर्गा पूजा यस वर्ष पनि भव्य रूपमा सुरु भएको छ। बडादसैँ २०८३ को पहिलो दिन घटस्थापनाको अवसरमा बुधबार विशेष पूजा–अर्चनासहित दुर्गा पूजाको शुभारम्भ गरिएको हो।


सार्वजनिक दुर्गा पूजा सुरु हुनुअघि बिहान ८ः३० बजेदेखि कलश यात्रा निकालिएको थियो। इटहरी–४ का विभिन्न गाउँ तथा टोल परिक्रमा गरेको कलश यात्रा पुनः भेडघाट चोकस्थित दुर्गा पूजा स्थलमा पुगेर सम्पन्न भएको थियो।


भेडघाट चोकको आकर्षक स्तम्भको ठीक अगाडि भव्य रूपमा निर्माण गरिएको पूजा स्थलमा यस वर्ष आकर्षक दुर्गा माताको मूर्ति स्थापना गरिएको छ। दुर्गा मातासहित अन्य देवीदेवताका मूर्ति स्थापना गर्नुका साथै घटस्थापनाको विधिअनुसार सामूहिक रूपमा जमरा राखिएको दुर्गा पूजा व्यवस्थापन समितिमा आबद्ध स्थानीय व्यवसायी राम भण्डारीले  जानकारी दिए । 


रिबन काटेर पूजा शुभारम्भ, मूर्तिको अनावरण


दुर्गा पूजा आरम्भ गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा शिक्षासेवी, समाजसेवी तथा व्यवसायी निर्मल रिजाल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।  उनले रिबन काटेर सार्वजनिक दुर्गा पूजाको शुभारम्भ गरेका थिए ।  त्यस अवसरमा स्थापना गरिएका दुर्गा मातासहित अन्य देवीदेवताका मूर्तिको समेत अनावरण गरिएको थियो।


मूर्तिको अनावरणपछि आयोजित औपचारिक कार्यक्रमसँगै पण्डितद्वारा विधिपूर्वक पूजा–अर्चना सुरु गरिएको थियो। घटस्थापनादेखि विजयादशमीसम्म दैनिक रूपमा दुर्गा माताको पूजा तथा आराधना गरिने आयोजकले जनाएका छन्।

v 4


विजयादशमीका दिन पूजास्थलमा राखिएका जमरा, फूल, प्रसाद तथा टीका भक्तजनका घरघरमा पुर्‍याउने तयारी गरिएको छ। यसबाट स्थानीयवासीलाई सामूहिक रूपमा दसैँ मनाउन र धार्मिक परम्परालाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


झिलिमिली बत्ती र आकर्षक सजावटले बढायो रौनक


यस वर्ष भेडघाट चोकको दुर्गा पूजा स्थललाई विशेष आकर्षक ढङ्गले सजाइएको छ। रंगीन बत्ती, ठूला आकर्षक ब्यानर र व्यवस्थित सजावटका कारण साँझ परेपछि पूजा स्थल झनै मनमोहक देखिने गरेको छ।

v1

पूजा स्थलको आकर्षक सजावट हेर्न तथा फोटो र भिडियो खिच्न स्थानीयवासीसँगै आसपासका क्षेत्रबाट समेत मानिसहरू आउने गरेका छन्। विशेषगरी टिकटक भिडियो बनाउन, तस्बिर खिच्न र दसैँको रमाइलो अनुभव साटासाट गर्न आउनेहरूको चहलपहलले साँझको समयमा भेडघाट चोकको रौनक बढाउने अपेक्षा गरिएको छ। पूजा स्थलमा स्थानीयस्तरबाट सुरक्षा व्यवस्थासमेत मिलाइएको छ।


स्थानीय पहलमा लिङ्गे पिङको व्यवस्था


दसैँको परम्परागत मनोरञ्जनलाई ध्यानमा राख्दै पूजा स्थलको दक्षिणतर्फ यस वर्ष लिङ्गे पिङसमेत निर्माण गरिएको छ। गत वर्ष सशस्त्र प्रहरीले निर्माण गरिदिएको लिङ्गे पिङ यस पटक भने स्थानीयवासीको पहलमा बाँसको प्रयोग गरी तयार गरिएको स्थानीय रविन घिमिरेले जानकारी दिए । 


दसैँमा पिङ खेल्ने परम्परालाई निरन्तरता दिन तथा स्थानीयवासीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पिङको व्यवस्था गरिएको उनले बताए । 

v 5

स्थानीय एकराज घिमिरेका अनुसार यस वर्ष दुर्गा पूजा स्थललाई निकै आकर्षक ढङ्गले सजाइएको छ। आकर्षक दुर्गा माताको मूर्ति स्थापना गर्न र पूजा स्थल व्यवस्थापन गर्न उल्लेख्य खर्च गरिएको उनले जानकारी दिए । 


गत वर्षदेखि सुरु भएको भेडघाट चोकको सार्वजनिक दुर्गा पूजाले यस वर्ष थप भव्यता पाएको छ। धार्मिक आस्था, सामूहिक सहभागिता, सांस्कृतिक परम्परा र दसैँको उल्लासलाई एकै ठाउँमा जोड्ने प्रयासले भेडघाट चोकलाई स्थानीयवासीको आकर्षणको केन्द्र बनाउने अपेक्षा गरिएको छ।