झापाः गुणस्तरहीन मासु तथा मासुजन्य वस्तुको अवैध आयात रोक्न सीमाक्षेत्रमा उच्च सतर्कता अप्नाउँदै सामान जाँचमा कडाइ गरेपछि मासु तथा मासुजन्य वस्तु धमाधम पक्राउ पर्न थालेका छन् ।

नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय पशु सेवा विभागले पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टालाई गुणस्तरहीन मासु तथा मासुजन्य वस्तुको अवैध आयात नियन्त्रणमा सक्रिय पूर्वक लाग्न र नाकामा उच्च सतर्कता अपनाउन निर्देशन दिएलगत्तै कार्यालयले स्थानीय सुरक्षा निकायको सहकार्यमा चेकजाँचमा कडाइ गरेको कार्यालय प्रमुख मुकेशकुमार सिंहले बताए ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ सय १९ वटा ब्रोइलर कुखुरा, ५ सय केजी मासु, १५ वटा स्थानीय जातका कुखुरा, १० वटा हाँस नियन्त्रणमा लिएर नष्ट गरिएको सिंहले बताए । भारतबाट आयातीत मासुजन्य सामग्रीका कारण विभिन्न प्रकारका घातक रोग प्रवेश गर्न सक्ने हुँदा व्यवसायीले त्यस्ता सामग्री आयात गर्दा क्वारेन्टाइन गराउनसमेत उनले आग्रह गरे ।

नेपाल र भारतबीचको खुला सीमाका कारण कतिपय प्रतिबन्धित मासु तथा मासुजन्य वस्तु नेपाल आयात हुने गरेको हुँदा उपभोक्ता र व्यवसायी समेत त्यसमा सचेत हुनुपर्ने उनको भनाइ थियो ।

पशु तथा पशुजन्य पदार्थको अवैध आयातलाई मध्यनजर गरी यस्ता क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा एवम् अन्य सम्बन्धित निकायसँग समन्वय गरी काम शुरु गरेको कार्यालय प्रमुख सिंहले बताए ।