इनरुवाः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ को अधिवेशनअन्तर्गत रोकिएको निर्वाचन तत्काल सञ्चालन गर्न माग गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार सुरस राई ‘सूर्य’ले निर्वाचन अधिकृत र जिल्ला पार्टी सभापतिसमक्ष निवेदन दिएका छन्।
इनरुवास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा शनिबार निवेदन दर्ता गर्दै राईले निर्वाचन प्रक्रिया पूरा नगरी बन्द कोठाभित्र केही व्यक्तिबीच गरिएको सहमतिका आधारमा विजेता घोषणा गरिएको भए त्यसलाई मान्यता नदिन माग गरेका हुन्।
राईले निर्वाचनमा सहभागी उम्मेदवारहरूको सहमति र सहभागिताबिना कुनै समूह वा व्यक्तिबीच गरिएको सहमतिका आधारमा महाधिवेशन प्रतिनिधि चयन वा विजेता घोषणा गर्नु लोकतान्त्रिक निर्वाचन प्रक्रियासँग मेल नखाने उल्लेख गरेका छन्।
उनले निर्वाचन प्रक्रिया बीचमै रोकिएको अवस्थामा वास्तविक मतपरिणाम सार्वजनिक नगरी आफूहरूलाई नै विजेता घोषणा गर्दै काठमाडौं जाने तयारी गरिएको भन्ने विषयमा समेत आपत्ति जनाएका छन्। निर्वाचन प्रक्रियामार्फत प्राप्त वास्तविक मतपरिणामका आधारमा मात्र विजेता तथा महाधिवेशन प्रतिनिधि घोषणा गरिनुपर्ने उनको माग छ।

निर्वाचन अधिकृतसमक्ष दर्ता गरिएको निवेदनमा रोकिएको निर्वाचन यथाशीघ्र पुनः सञ्चालन गरी निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा सम्पन्न गर्न माग गरिएको छ।
त्यसैगरी उम्मेदवारहरूको वास्तविक सहमति र सहभागिताबिना बन्द कोठामा गरिएको सहमतिका आधारमा विजेता घोषणा गरिएको भए त्यसलाई आधिकारिक मान्यता नदिन आग्रह गरिएको छ। विधि, विधान र निर्धारित निर्वाचन प्रक्रिया पूरा नभएसम्म विवादित विजेता घोषणालाई अन्तिम तथा आधिकारिक नमान्न पनि माग गरिएको छ।
राईले सबै उम्मेदवारलाई समान अवसर प्रदान गरी मतदाताले स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्न निर्वाचन अधिकृतसँग आग्रह गरेका छन्।

निवेदनमा सम्पूर्ण विषयमा निष्पक्ष छानबिन गरी विधि, विधान र तथ्यका आधारमा न्यायोचित निर्णय गर्नसमेत माग गरिएको छ। लोकतान्त्रिक पार्टीमा निर्वाचनको विकल्प बन्द कोठाभित्र गरिने सहमति हुन नसक्ने भन्दै कार्यकर्ताको मताधिकार र विधिसम्मत निर्वाचन प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
निवेदनको बोधार्थ नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरी, सम्बन्धित निर्वाचन समिति तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई दिइएको छ।
राई सुनसरी क्षेत्र नं. २ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन्। उनले २०८३ असोज १७ गते निवेदन दर्ता गराएका हुन्।




















