भोजपुरः बाँदरबाट क्षति कम हुने र बजारमा राम्रो मूल्य पाउने भएपछि जिल्लाका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय किसानले यसको व्यावसायिक खेती विस्तार गर्न थालेका हुन् ।

षडानन्द नगरपालिका–१ नेपालेडाँडाका किसान जीवन थापाले विसं २०७६ देखि व्यावसायिकरूपमा मेकाडेमिया नट खेती गर्दै आएका छन् । उनले पोखराबाट बिरुवा ल्याएर आफ्नो क्षेत्रमा करिब दुई हजार बोट मेकाडेमिया नट खेती विस्तार गरेका छन् ।

मेकाडेमिया नटको बोटमा काँडा हुने तथा फलको बोक्रा कडा हुने भएकाले अन्य कृषि उपजको तुलनामा बाँदरबाट कम क्षति हुने थापाको भनाइ छ । बाँदरको प्रकोप रहेका पहाडी क्षेत्रमा यसको खेती गर्दा उत्पादन जोगाउन सहज हुने उनले बताए ।

थापाले गत वर्ष प्रतिकिलो रु दुई हजारका दरले करिब १५० किलोग्राम मेकाडेमिया नट बिक्री गरे। मेकाडेमियाको दाना छुट्याएर गुदी मात्र बिक्री गर्दा प्रतिकिलो रु पाँच हजारसम्म मूल्य प्राप्त हुने उनले बताए । आफूले विस्तार गरेको बिरुवाले तीन वर्षदेखि फल दिन थालेको उनले जानकारी दिए ।

“मैले दुई हजार बोट मेकाडेमिया नट खेती गरेको छु”, थापाले भने, “यो वर्ष पनि फल टिप्ने, केलाउने काम भइरहेको छ । तर, असिनाले क्षति गरेकाले उत्पादन केही घट्ने अवस्था छ ।”

गाउँघरमा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव रहेको थापाले बताए । बजारमा यसको माग बढ्दै गए पनि हाल उत्पादनले बजारको माग धान्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट करिब १०० मिटरदेखि एक हजार ८०० मिटरसम्मको उचाइमा मेकाडेमिया नट खेती गर्न सकिने थापाले बताए । भोजपुरको भौगोलिक अवस्था र हावापानीका कारण विभिन्न क्षेत्रमा यसको खेती विस्तार गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

मेकाडेमिया नट किसानका लागि राम्रो आम्दानीको स्रोत बन्न सक्ने देखिएपछि यसको खेती विस्तारमा जोड दिइएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । गाउँपालिकाले किसानलाई नमूनाका रूपमा गत वर्ष ४०० बोट बिरुवा निःशुल्क वितरण गरेको उनले जानकारी दिए ।


किसानबाट माग आएमा यस वर्ष पनि मेकाडेमिया नटको बिरुवा वितरण गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताए । अन्तरराष्ट्रिय बजारमा ‘ड्राइ फ्रुट’का रूपमा यसको माग रहेकाले यसको व्यावसायिक सम्भावना राम्रो रहेको उनको भनाइ छ ।